२७ फाल्गुन, काठमाण्डौं । देशमा राजनीतिक अस्थिरता चरम विन्दुमा पुगेको बेला सत्ता समीकरणबारे काँग्रेस सभापति शेरबहादुर देउवा मौन जस्तै छन् । एकमना सरकार चलाएको ‘नेकपा’ एमाले र माओवादी केन्द्रमा फर्किँदा पनि देउवामा हलचल आएको छैन । नेपाली राजनीतिमा उथलपुथल हुँदा पनि निर्णायक शक्ति केन्द्र देउवा निवास बूढानीलकण्ठ शान्तजस्तै छ ।
वर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार जोगाउन र नयाँ सरकार बनाउन तीव्र दौडधुप चलिरहेका बेला देउवाको मौनता आश्चर्य लाग्दो छ ।
सत्ता राजनीतिका भेट्रान खेलाडी मानिने देउवा यो पटक प्रधानमन्त्री बन्ने मौका आउँदा पनि निश्कृय जस्तो देखिएको पाइन्छ । तर महामन्त्री पूर्णबहादुर खड्का भने देउवा प्रधानमन्त्रीको रेसभन्दा बाहिर र निश्कृय पनि नरहेको बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘सभापतिजीले प्रधानमन्त्री रेसमा छैन मात्र भन्नु भएको छैन, संसदीय व्यवस्थामा विपक्षी दलको नेता ‘प्राइममिनिस्टर इन वेइटिङ’ हो पनि भन्नु भएको छ । प्रधानमन्त्रीका लागि उथलपुथल गर्ने प्रवृत्तिमा छैन भन्नु भएको हो ।’
खड्का अनुसार अहिले प्रधानमन्त्री को बन्छ भन्ने कुराको प्रारम्भिक संवाद सुरु गर्ने बेला भएको छैन । ‘नेकपा एमाले र माओवादीले भर्खेरै मात्र आधिकारिकता पाए । उहाँहरुले आफ्नो पार्टीको औपचारिक गतिविधि नै सुरु गर्नुभएको छैन । काँग्रेस वा अन्य पार्टीले प्रधानमन्त्रीका कुरा गर्नु हतारो हुन्छ । अहिले दलहरुबीच समझदारी कसरी गर्ने भन्नेमा छलफल जुट्नुपर्छ ।’
तर राजनीतिक छलफलको अग्रसरतामा समेत सभापति देउवा उदासीन देखिन्छन् । संसदको तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक भेटघाटमा तीव्रता दिँदा देउवा सत्ता समीकरणका लागि अग्रपंक्तिमा देखिएको पाइँदैन ।
देउवाले पछिल्लो आन्तरिक भेटघाटमा पनि प्रधानमन्त्री बन्ने उत्कट आकांक्षा नराखेको बुझिएको छ । बरु देउवा फेरि सभापतिमा दोहोरिने कसरतमा बढी व्यस्त देखिन्छन् । सत्ता समीकरणभन्दा महाधिवेशनबारे संवाद गर्न बूढानीलकण्ठ पुग्नेलाई देउवाले बढी महत्त्व दिने गरेको पाइन्छ । संसद विघटनयता देउवा निवास सत्ता समीकरणको प्रस्ताव लिएर पुगेका प्रचण्डसँग एक आधा घण्टा मात्र संवाद गरेका थिए ।
तर पार्टी महाधिवेशनबारे संवाद गर्न पुगेका जिल्ला तहका नेता कार्यकर्ता र भातृ तथा शुभेच्छु संघका पदाधिकारीसँग उनी घण्टौँ गफिने गरेका छन् । त्यसको उदाहरण हो केही दिनअघि शिक्षा संघका पदाधिकारीसँग ४ घण्टा गरेको संवाद ।
देउवाले आफू निकट नेता कार्यकर्तालाई सरकारमा नभइ महाधिवेशनमा जोड दिन निर्देशन दिएको बुझिएको छ । बूढानीलकण्ठ स्रोतका अनुसार देउवा यतिबेला भदौभित्र महाधिवेशन गराउने र फेरि सभापति बन्ने ध्येयमा रहेको बुझिएको छ । राजनीतिक दलहरुले पाँच–पाँच वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्थाको काँग्रेस चेपुवामा छ ।
यता ओली सरकार जोगाउने र गिराउने खेलमा निर्णायक देखिएको संसदको चौंथो दल जसपाले प्रधानमन्त्रीतिर नजर लगाएको देखिन्छ । देउवाले प्रधानमन्त्री पद छोड्ने कुरामा उदारता देखाए ओली सरकारको बहिर्गमनको लागि गठबन्धन बनाउन सजिलो हुने ओली इतर पक्ष बुझाइ छ । किनभने प्रधानमन्त्रीसँग निकट सम्पर्कमा रहेको जसपा पक्षले ओली इतर पक्षसँग भने प्रधानमन्त्री पदका लागि बार्गेनिङ गर्न थालेको बुझिएको छ । काँग्रेसका नेताहरु पनि महन्थ ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने विषय सकारात्मक रहेको स्रोतको दाबी छ ।
लामो समय काँग्रेसमा राजनीति गरी मधेश केन्द्रित राजनीतिमा होमिएका ठाकुरप्रति काँग्रेसभित्र सदासयता रहेको पाइन्छ ।
-रातोपाटी