६ साउन, काठामाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा नेतृत्वको दाबी नछाड्ने बताएकी छिन् । आफ्नै निवास भंगालमा केही पत्रकारसँग कुराकानी गर्दै भण्डारीले उक्त दाबी गरेकी हुन् । पत्रकारसँग उनले भनिन्, ‘म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ ।’
भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने निर्णयसँगै एमालेको आन्तरिक राजनीति पेचिलो बन्दै गएको छ । एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा पनि भण्डारीको पक्ष र विपक्षमा मत व्यक्त भइरहेको छ । एमालेको ११औँ महाधिवेशनमा अध्यक्षको दाबेदार रहेको भण्डारीले घोषणा गरेपछि एमालेभित्र मतभिन्तता देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओलीले भने भण्डारीलाई एमालेमा फर्किन नदिने बताइरहेका छन् ।
केन्द्रीय कमिटीको बैठकमा समेत भण्डारीलाई रोक्ने बताएका थिए । ४ साउनमा भण्डारीसँग पार्टी कार्यालयमा भएको छलफलमा समेत सक्रिय राजनीतिमा नआउन ओलीले आग्रह गरेको केन्द्रीय सदस्यलाई सुनाएका थिए । त्यति मात्र होइन, अध्यक्ष ओलीले पार्टी विभाजन गर्न तत्त्वहरू सलबलाएको गम्भीर आरोप पनि लगाएका थिए ।
पार्टी विभाजन गर्ने तत्त्व सलबलाएको भन्दै ओलीले नेताहरूलाई एकताबद्ध हुन निर्देशन दिएका थिए । ओलीले यस्तो निर्देशन दिएको भोलिपल्ट भण्डारीले कडा अभिव्यक्ति दिएकी हुन् । एमालेको अध्यक्षमा दाबी गर्ने अडानसहितको भण्डारीको पछिल्लो अभिव्यक्तिले एमालेभित्र ठूलो हलचल ल्याउने संकेत देखिएको छ । १४ असारमा भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्किएको निर्णय सुनाएकी थिइन् ।