‘विष्फोटक’ अभिव्यक्ति दिएकी झाक्रीको ‘नो रेस्पोन्स’ : कारवाहीमा अन्योलता !

‘विष्फोटक’ अभिव्यक्ति दिएकी झाक्रीको ‘नो रेस्पोन्स’ : कारवाहीमा अन्योलता !

५ साउन, काठमाण्डौँ । पार्टी अध्यक्ष माधवकुमार नेपालसहितका नेतालाई लक्षित गर्दै नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले दिएको ‘विष्फोटक’ अभिव्यक्तिपछि उनलाई कस्तो कारबाही गर्ने भन्नेमा पार्टीभित्र अन्यौलता छ । स्वयं झाँक्रीले भने यस विषयमा पार्टीलाई कुनै ‘रेस्पोन्स’ दिएकी छैनन् ।

झाँक्रीले असार १४ गते रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रदेश भेलालाई सम्बोधन गर्दै पार्टीभित्रका विभिन्न व्यक्तिमाथि कानुनी र नैतिक प्रश्नहरू उठेको र ‘मरेको सिनो’ बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् । त्यसक्रममा उनले ‘अध्यक्षकै विषयमा पनि कुरा उठेको छ’ भनिन् । उनले त्यस्तो नेतृत्वलाई बोकेर हिँड्न नसकिने भन्दै ‘अर्ली महाधिवेशन’ को कुरा उठाएकी थिइन् ।

उक्त अभिव्यक्तिपछि पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताले उनलाई पार्टीबाट निष्कासन गरिने भन्दै आएका थिए । पाण्डेको कुरा सच्याउँदै फेरि अर्का उपाध्यक्ष जगन्नाथ खतिवडाले अनुशासन आयोगबाट सोधिएको स्पष्टीकरणको जवाफ आएपछि कारबाही गरिने भने । तर, झाँक्रीले आफूलाई कोही, कसैले, कुनै स्पष्टीकरण वा सवाल जवाफ पनि नगरेको भन्दै आएकी थिइन् ।

असार २४ गतेको सचिवालय बैठकले झाँक्रीलाई आफ्नो भनाइ सच्याउन (माफ माग्न) का निम्ति ७ दिनको समय दिने गरी लिखित स्पष्टीकरण सोध्ने जिम्मेवारी महासचिव घनश्याम भुसाललाई दिएको थियो ।

भुसालले २६ गते स्पष्टीकरण सोधेर एउटा चिठी लेखे, तर झाँक्रीले बुझ्न चाहिनन् । पछि पार्टी कार्यालयका एक सहयोगीले उनको घरमा लगेर छोराको हातमा पत्र थमाए । १२ दिन भयो, झाँक्री ‘नो रेस्पोन्स’ कै स्थितिमा छन् ।

नेपाल प्रेसले सम्पर्क गर्न खोज्दा झाँक्री सम्पर्कमा आइनन् । पछि उनका एक सहयोगीले सम्पर्क गरेर केही समय कुनै प्रतिक्रिया नदिने सन्देश सुनाए । ‘स्टेटमेण्ट करेक्सन नगर्ने, तर बोलेको विषयमा पार्टीभित्रको जुनसुकै फोरममा छलफल र बहस गर्न तयार हुनुहुन्छ’, उनले भने, ‘स्पष्टीकरणको जवाफ दिनुभएको छैन, दिनुहुन्न ।’

झाँक्रीलाई स्पष्टीकरणको जवाफ लेख्न पार्टीका विभिन्न तहका नेताले अनुरोध र दबाब दिँदै आएका छन् । तर, उनी निजी काममै व्यस्त भएका कारण ती अनुरोध र दबाबलाई पनि ‘रेस्पोन्स’ गरेकी छैनन् । त्यसपछि साउन २ गते नेकपा एसमा समाहित भएका नेता वामदेव गौतममार्फत सम्झाई–बुझाई गराउन खोज्दा पनि उनले खासै राम्रो ‘रेस्पोन्स’ नगरेको पार्टीस्रोतले जनायो ।

आजसम्मको स्थितिमा स्पष्टीकरणको कुनै जवाफ नदिएकी झाँक्रीले यसरी नै ‘नो रेस्पोन्स’ को नीति लिइरहिन् भने पार्टीले के गर्ला ? नेपाल प्रेसले एकजना उपाध्यक्षलाई यो प्रश्न गर्दा उनले भने, ‘गर्नुपर्ने निष्कासन नै हो, तर त्यसो गर्दा उहाँसँगै अरूले पनि पार्टी छाडिदिए भने समस्या पर्ला भनेर के गर्ने भन्ने अन्यौलता छ ।’

झाँक्री भने ‘स्टेटमेण्ट करेक्सन’ नगरेबापत जे भोग्नुपर्ने र व्यहोर्नुपर्ने हो, त्यसका निम्ति तयार रहेकी छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल भने निष्कासनकै पक्षमा छन् । उनी केही दिनदेखि पार्टी कामकै सिलसिलामा जनकपुरमा छन् । सोमबार दिउँसो काठमाडौं फर्किने तयारी छ । उनी फर्किएपछि सचिवालय बैठकको टुंगो लाग्ने केन्द्रीय कार्यालयस्रोतले जनायो । स्रोतका अनुसार बुधवार, बिहीबारभित्र बैठक बोलाउने तयारी छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर