राप्रपामा गम्भीर मतभेद, रवीन्द्र मिश्र मौन

राप्रपामा गम्भीर मतभेद, रवीन्द्र मिश्र मौन

५  साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र तीव्र मतभेद बढेका बेला वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र उनीनिकट नेताहरू मौन छन्।

अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते नवराज सुवेदी र सगुनसुन्दर लावती तथा साउन २ गते मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका थिए।

सुवेदी अनुशासन समिति अध्यक्ष, लावती प्रवक्ता र गिरी उपाध्यक्ष तथा केन्द्रीय सदस्य थिए। उनीहरूलाई विगतमा अध्यक्ष लिङ्देनले नै मनोनीत गरेका थिए।

अध्यक्ष लिङ्देनले नेताहरूमाथि गरेको कारबाही विधानसम्मत नभएको र स्पष्टीकरणको मौकासमेत नदिएको भन्दै पार्टीका नेताहरूले विज्ञप्ति निकालेर आलोचना गरिरहेका छन्, पुनर्बहालीको माग गरिरहेका छन् र निर्वाचन आयोगमा उजुरी दिएका छन्। यो समग्र प्रक्रियामा वरिष्ठ उपाध्यक्ष मिश्र कतै देखिँदैनन्।

अध्यक्ष लिङ्देनले आफूले मनोनीत गरेकाहरूले आफूविरूद्ध नै गुट चलाएर असहयोग गरेको निष्कर्ष निकाल्दै श्रृङ्खलाबद्ध रूपमा नेताहरूलाई कारबाही गरिरहेका छन्।

महाधिवेशनबाट निर्वाचित अध्यक्षले विधानअनुसार तोकिएका पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गर्न र हटाउन पाउने विधानको व्यवस्था रहेको जिकिर लिङ्देनको छ।

अध्यक्षले मनोनीत वा हटाउन सक्ने भए पनि त्यसअघि स्पष्टीकरणलगायतको मौका दिनुपर्ने र केन्द्रीय समितिबाटै सामूहिक निर्णय लिनुपर्नेमा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष मुकुन्दश्याम गिरी, विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्तिकुमारी शाहीको भनाइ छ।

अध्यक्ष लिङ्देनले फरक मत राख्ने नेताहरूलाई छानिछानि कारबाही गर्नु स्वेच्छाचारिता भएको दाबी संस्थापनइतर पक्षका नेताहरूको छ, त्यसैले उनीहरू निर्वाचन आयोगमा उजुरी लिएर पुगेका छन्।

अध्यक्ष लिङ्देननिकट एक नेताका अनुसार चैत ४ गते नै राप्रपा परित्याग घोषणा गरी ‘संयुक्त जनआन्दोलन समिति’ संयोजक बनेका नवराज सुवेदीलाई ‘मोहरा’ बनाएर पार्टीभित्र आउँदो महाधिवेशनकेन्द्रित गुट बनाउने र अध्यक्ष लिङ्देनलाई असहयोग गर्न खोजिएको छ।

सुवेदी संयोजकत्वको राजसंस्था पुनस्र्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ मा सदस्य सचिव राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र आन्दोलन परिचालन समितिमा महामन्त्री धवलशम्शेर राणा छन्।

आफ्नै संयोजकसमेत रहेका नवराज सुवेदीलाई अध्यक्ष लिङ्देनले असार २५ गते राप्रपा अनुशासन समिति अध्यक्ष पदबाट हटाएर रोशन कार्कीलाई मनोनीत गरेपछि धवलशम्शेरलगायत नेताहरूले विरोध गरेका छन् तर मिश्र यसमा पनि मौन छन्।

मिश्र महामन्त्री धवलशम्शेर राणासँग निकट मानिन्छन्। तर यसपालि उनी धवललाई साथ दिने पक्षमा उभिएनन्। अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असहमत प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी, कुन्तिकुमारी शाहीलगायत नेताहरू धवलशम्शेरको घरमा आन्तरिक छलफल गरी अघि बढ्ने गरेका छन्, त्यहाँ मिश्र देखिँदैनन्।

विवेकशील साझा पार्टी परित्याग गरी मिश्र २०७९ असोज १२ गते मिश्र राप्रपामा समाहित भएका थिए। उनलाई अध्यक्ष लिङ्देनले वरिष्ठ उपाध्यक्ष (तेस्रो वरीयता) सहित राप्रपामा समाहित गरेका थिए।

राप्रपा अध्यक्ष लिङ्देनले पछिल्लो समय आफूलाई असहयोग गर्ने नेताहरूको जिम्मेवारी खोसेका छन्। यसबाट २०७८ मंसिरमा भएको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई खासै फरक पर्ने देखिँदैन तर मनोनीत पदाधिकारी भने झस्केका छन्– कतै लिङ्देनको एक निर्णयले आफ्नो पद जाने त होइन भन्ने मनोनीत पदाधिकारीलाई पर्न थालेको छ, किनकि ३ नेताको पद गइसकेको अवस्था छ।

मिश्र पनि मनोनीत वरिष्ठ उपाध्यक्ष हुन्। उनी अहिले अध्यक्ष लिङ्देनले चालेको कदमको बचाउ र विरोधमा कतै पनि देखिँदैनन्, सुनिँदैनन्।

किन त?

‘उहाँ पार्टीभित्र देखिएको पछिल्लो मतभेदमा मौन हुनुहुन्छ,’ अध्यक्ष लिङ्देननिकट एक नेताले भने, ‘मिश्रजी जहिले पनि विधिको कुरा गरिराख्नुहुन्छ, त्यसैले अध्यक्षले गरेको कामकारबाही विधिसम्मत छ भन्ने लागेकैले बोल्न आवश्यक ठान्नु भएन कि!’

नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ मा सदस्य सचिव बस्न गएको र अध्यक्षलाई सदस्य मात्रै राखेको भन्दै त्यसबेला लिङ्देन मिश्रप्रति असन्तुष्ट थिए।

पार्टीमा पर्याप्त छलफलबिनै सुवेदी नेतृत्वको समितिमा बस्न गएको विषय राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि उठेको थियो, त्यहाँ मिश्र र राणाको आलोचनासमेत भएको थियो। मिश्र र राणाले करिब डेढ वर्षदेखि राजावादी सबै शक्तिहरूलाई एकत्रित गर्ने जमर्काे पनि गरेका थिए।

मिश्र मौन रहनुको अर्काे कारण– चैत १५ गते तीनकुनेमा भएको घटनाले पनि हो। ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका कमाण्डर दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्थाका पक्षमा प्रदर्शन थियो। प्रदर्शन उग्र भयो, आगजनी र लुटपाटसमेत भयो भने दुई जनाको मृत्यु भयो।

सोही साँझ रवीन्द्र मिश्र र धवलशम्शेर राणालाई प्रहरीले पक्राउ गर्‍यो। स्वास्थ्यको कारण देखाउँदै राणा केही पहिले नै हिरासतमुक्त भए भने सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणपछि ४९ दिन हिरासत बसेर मिश्र पनि छुटेका थिए।

तीनकुने घटनामा राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रवको कसुर गरेको भन्दै मिश्रलाई हिरासतमा राखिएको थियो।

जेठ २ गते सर्वाेच्चले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि मिश्रले बोलेका थिए।

आफूले कुनै पनि कसुर नगरेको र अनुसन्धान गर्न सघाएको भए पनि राज्यले हिरासतमा राखेको उनको भनाइ थियो।

स्वास्थ्य उपचारका लागि हिरासतमुक्त भएका धवलशम्शेर भने भारत गएर उपचार गराएर फर्के र सक्रिय राजनीतिमै छन्। तर मिश्र राजनीतिक कार्यक्रमहरूमा खासै देखिएका छैनन्, उनी पार्टीका बैठकहरूमा भने नियमित रूपमा जाने गरेका छन्।

‘चैत १५ गतेपछि पक्राउ परेको र लामो समय हिरासत बस्नुपरेको घटनाले पनि उहाँ बाहिर धेरै नबोल्नुभएको हुन सक्छ,’ राप्रपाका एक पदाधिकारीले भने, ‘राज्यले बेकारमा दुःख दियो भन्ने पनि लागेको हुन सक्छ।’

पार्टीभित्र वरिष्ठ उपाध्यक्ष मिश्रले विधिका कुरा गरिरहन्छन्।

‘विधिका कुरा गर्ने भएकोले अराजनीतिक ग्याङअप गर्न हुन्न भन्ने पनि मिश्रजीलाई लागेको होला,’ ती पदाधिकारीले भने, ‘उहाँ राजनीतिक रूपमा धवलशम्शेरतिर अलि निकट हो, तर यसपालि साथ दिनुभएन।’

पार्टीका नेताहरूलाई अध्यक्ष लिङ्देनले पदमुक्त गरेपछि महामन्त्री धवल शम्शेरलगायत नेताहरूले आलोचना गरिरहेका छन्। महामन्त्री राणाले वरिष्ठ उपाध्यक्ष मिश्र आफ्नो साथी रहेको र अहिले पनि साथ दिन आग्रह गरेको बताएका थिए।

‘उहाँ मेरो मित्र हो, राजनीतिक रूपमा हामी नजिक पनि छौं, यसपालि पनि मैले उहाँलाई बोलाएको हुँ, आउने नआउने उहाँको कुरा हो,’ वरिष्ठ उपाध्यक्ष मिश्रका बारेमा महामन्त्री राणाले भनेका छन्, ‘तर उहाँले म सानोतिनो विषयमा नपरौं, सहयोग रहन्छ भन्नुभएको थियो।’

अध्यक्ष लिङ्देनले संस्थापनइतर नेताहरूलाई भूमिकाविहीन बनाउन खोजेको र केहीलाई कारबाहीसमेत गरेकोले महामन्त्री राणाको घरमा दिनहुँजसो बैठक भइरहेका छन्।

नवराज सुवेदीले डिल्लीबजारको पार्टी प्यालेसमा ‘सबै पक्षलाई एकजुट बनाउने चेस्टाअन्तर्गत’ घोषणा गरेकै भरमा राप्रपा सदस्यता परित्याग नहुने र त्यसका लागि लिखित राजीनामा दिनुपर्ने कुरा पनि महामन्त्री राणा पक्षको छ। नवराज सुवेदीलाई अनुशासन समिति अध्यक्षबाट नहटाउन अध्यक्ष लिङ्देनसहित पाँच नेताहरूले राजनीतिक सहमति गरे पनि त्यो समझदारी लिङ्देनले तोडेको आरोप पनि उनीहरूको छ।

‘नवराज सुवेदीलाई मोहरा बनाएर आउँदो महाधिवेशनको तयारी भइरहेको उनीहरूको गतिविधिबाट झल्कन्छ, पार्टी अध्यक्षलाई अप्ठेरो बनाउन सकिन्छ कि, पार्टीभित्र भाडभैलो निम्त्याउन सकिन्छ कि भनेर सानातिना विवाद पनि मार्केटिङ गरिरहेका छन्,’ महामन्त्री धवलशम्शेर पक्षलाई लक्ष्य गर्दै लिङ्देनपक्षका एक पदाधिकारीले भने, ‘यस्तो चलखेलका बीचमा वरिष्ठ उपाध्यक्ष मिश्रले अध्यक्ष लिङ्देन र महामन्त्री धवल कुन ठिक छुट्टाउन सकेका छैनन् जस्तो देखिन्छ, त्यसैले अध्यक्षको निर्णय खुलेर समर्थन गर्न पनि सकेनन् र धवलशम्शेरको गुट भेलामा पनि गएका छैनन्।’

पछिल्लो समय पार्टीभित्रका मतभेदमा कतै टिप्पणी नगरेका मिश्रलाई यसबारे सोध्न पटकपटक सम्पर्क गरे पनि उनी सम्पर्कमा आएनन्। मिश्रनिकट राप्रपाका नेताहरूले पनि फोन उठाएनन्।

अध्यक्ष लिङ्देन भने तीन जना नेतालाई पदमुक्त गरेर विभिन्न कार्यक्रममा भाग लिन गृहजिल्ला झापा पुगेका थिए।

‘सूर्यबहादुर थापादेखि कमल थापासम्मलाई दुःख र हैरानी दिने केही पात्रहरूले मलाई पनि घेराबन्दी गर्न खोजेका छन् भन्ने निष्कर्ष अध्यक्षज्यूको छ,’ लिङ्देननिकट एक नेताले भने, ‘घेराबन्दी गर्नेहरूसँग सम्झौता गर्दिनँ, जति क्षति बेहोरेर भए पनि अघि बढ्छु। महाधिवेशन आउन अझै एक वर्ष छ, आमचुनाव आउन दुई वर्ष छ, त्यो बेलासम्म त पार्टीलाई अझै बलियो बनाउन सक्छु भन्ने आत्मविश्वास लिङ्देनमा देखिन्छ, त्यसैले अहसयोग गर्नेहरूमाथि कारबाही गरिएको हो।’

नवराज सुवेदी, प्रकाशचन्द्र लोहनी, मुकुन्दश्याम गिरी, हरिबहादुर बस्नेतलगायतलाई अघि सारेर पार्टी अघि बढ्न सक्दैन र भोटसमेत धेरै आउँदैन भन्नेमा अध्यक्ष लिङ्देन प्रष्ट रहेको दाबी अध्यक्षनिकट ती नेताले दाबी गरे।

‘आफ्नो ढंगले पार्टी चलाएर अघि बढ्ने र अझै कठोर बन्दै जाने संकेत अध्यक्षको देखिन्छ,’ ती नेताले भने।

अध्यक्ष लिङ्देनले झापामा आयोजित एक कार्यक्रममा पार्टीभित्र षड्यन्त्र गर्नेहरूले ‘बाटो तताए हुने’ अभिव्यक्तिसमेत दिएका छन्।

‘पार्टीमा षड्यन्त्र गर्नेहरूले बाटो तताए हुन्छ। म मन पर्दै भने पनि महाधिवेशनसम्म कुर्नु र हटाउनु,’ लिङ्देनको भनाइ छ, ‘मेरो विचारसँग सहमत हुन सकिँदैन भने बाटो तताए हुन्छ।’

अध्यक्ष लिङ्देनका पछिल्ला निर्णयप्रति महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले मात्रै विरोध गरिरहेका छन्, किनभने उनीहरूलाई पदमुक्त गर्न मिल्दैन।

राप्रपाका निर्वाचित पुराना नेताहरूकोजस्तो वरिष्ठ उपाध्यक्ष मिश्रको पद बलियो छैन। किनकि उनी राजनीतिक सहमतिअनुसार राप्रपामा सामेल भए र अध्यक्षबाट वरिष्ठ उपाध्यक्ष (मनोनीत) पद लिएका थिए।

‘आफूविरूद्ध विज्ञप्ति सार्वजनिक गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई अध्यक्षले उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट हटाइदिनुभयो,’ लिङ्देननिकट ती नेताले भने, ‘वरिष्ठ उपाध्यक्ष मिश्र पनि मनोनीत हो, उहाँले दायाँबायाँ गरे अध्यक्षको एक विज्ञप्तिले उहाँको पद र मार्गपरिवर्तन नै धरापमा मात्र पर्दैन, सडकमै पुग्नुहुन्छ।’

असार २५ गते अध्यक्ष लिङ्देनले अनुशासन समिति अध्यक्ष मनोनीत गरेका रोशन कार्कीले त्यसको ९ दिनपछि पहिलो बैठक गरेर पार्टी नीति र सिद्धान्तविपरीत अभिव्यक्ति नदिन आग्रह गरेकी छन्।

‘पार्टीको नीति, सिद्धान्त र हितविपरीत हुने गरी लिखित वा मौखिक रूपमा कुनै पनि प्रकारको अभिव्यक्ति नदिन तथा त्यस सम्बन्धी कुनै पनि प्रकारको क्रियाकलाप नगर्न नगराउनु हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गर्ने,’ अनुशासन समितिको निर्णय छ।

‘हामीलाई पदमुक्त गरे, विरोधमा नेता कार्यकर्ताले फेसबुकमा लेखे भनेर त्यो रोक्न र कसैले लेखिहाले कारबाही गर्ने आधार खडा गर्न अध्यक्षकै निर्देशनमा अनुशासन समितिले यस्तो निर्णय गरेको देखिन्छ,’ अध्यक्ष लिङ्देनले पदमुक्त गरेका एक पदाधिकारीले भने, ‘प्रजातान्त्रिक पार्टीभित्र बोल्यो कि पदमुक्त गरिदिने आतंक छ। अध्यक्षले सामूहिक निर्णय नगर्ने र प्रक्रियाअनुसार विधानसम्मत चल्नुस् भन्दा गुट चलाएको आरोप लगाएर कारबाही गर्ने प्रवृत्ति छ।’

प्रतिक्रिया:

सम्बन्धित खवर