२७ फागुन, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’ भेटवार्ता भएको छ । नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको हो ।
एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एउटै गठबन्धनमा सहभागी भइसकेपछि सम्बन्ध सुधार वार्ता भएको बताए । ‘विगतको समीक्षा भयो होला,’ उनले भने । तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध दाहाल र नेपाल उत्रिएका थिए । ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास भएपछि उनले दुई पटक संसद् विघटन गरेका थिए । दुई पटक नै सर्वाेच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि ओली र नेपालले फरक बाटो लिएका थिए ।
२०७८ भदौमा पार्टी विभाजन भएपछि दुई नेताबीच बोलचाल बन्द थियो । पार्टी विभाजनकै कारण गत निर्वाचनमा ठूलो क्षति भएको निष्कर्ष एमालेले निकालेपछि दुई पार्टी तथा नेताबीच सम्बन्ध झनै चिसिएको थियो । यही फागुन २१ मा एमाले र माओवादीसहित दलहरूको नयाँ समीकरण बनेपछि गठबन्धनमा नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि मिसिएको हो । एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउन ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल निवास कोटेश्वर गएका थिए ।
यस्तै, शनिबार नै प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले नयाँ समीकरणबारे समीक्षा गरेका छन् । नयाँ गठबन्धन बनेपछि दुई नेताबीच भएको एक्लाएक्लै भेटवार्तामा सरकार निर्माण, सरकारले विश्वासको मत लिनेलगायत विषयमा छलफल भएको हो । ‘भेटवार्तामा दुई नेताबीच नयाँ गठबन्धन बनेपछिको अवस्थाबारे समीक्षा भयो,’ स्रोतले भन्यो, ‘नयाँ समीकरण बनेपछि एक्लाएक्लै कुराकानी हुन पाएको थिएन ।’
ओली र दाहालबीच यसअघि नै ०८४ को निर्वाचनसम्म सहकार्य गर्ने गरी नयाँ गठबन्धन बनाउने समझदारी भएको थियो । ‘सहकार्य र सहअस्तित्वका आधारमा अघि बढ्ने दुई नेताको समझदारी छ,’ स्रोतले भन्यो, ‘त्यहीअनुसार एमालेले मन्त्रालय भागबन्डामा प्रधानमन्त्रीलाई सजिलो बनाइदियो ।’
नयाँ गठबन्धन बनेपछि बहुमत र्पुयाउन धरमर भएपछि दुई नेताको प्रयासले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो । आइतबार जनता समाजवादी पार्टी सरकारमा सहभागी भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । फागुन ३० मा सरकारले विश्वासको मत लिने तयारी भइरहेका बेला ओली र दाहालबीच छलफल भएको हो ।
सरकारले विश्वासको मत लिएपछि गठबन्धनका साझा कार्यक्रम बनाउने र त्यसका आधारमा बजेट ल्याउने तयारी छ । फागुन २१ मा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीबीच ८ बुँदे लिखित सहमति गरी गठबन्धनको घोषणा गरिएको थियो । माओवादीले राष्ट्रिय सभा अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको छ ।