१० असोज, इलाम । लोपोन्मुख समुदायमा पर्ने लेप्चा जातिको संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि इलामको सूर्याेदय नगरपालिकाले उद्यान बनाउन सुरु गरेको छ ।
नगरपालिकाले लेप्चा जातीको सङग्रहालय नजिकै उद्यान बनाउन थालेको हो । सूर्याेदय–१० को फेन्सोङ लेप्चा गुम्बा नजिकै १२ रोपनी जग्गामा उद्यान निर्माण थालिएको जनाईएको छ ।
तीन वर्षमा निर्माण सक्ने लक्ष्य रहेको उद्यानको लागत रु एक करोड ८० लाख रहेको छ । गुम्बामा स्थानीय पर्यटकसमेत कम पुग्ने गरेकाले नजिकै उद्यान निर्माण गर्न लागिएको हो । ‘उद्यान निर्माण गर्दा बिहान–बेलुका ताजगी महसुस गर्नसमेत स्थानीय व्यक्ति आउने भएकाले यो काम शुरु गरिएको हो’, नगरपालिकाका प्रवक्ता वीरबहादुर लेप्चाले भननुभयो, ‘नजिकै होटल र बजार भएकाले टाढाका पर्यटकले पनि घुम्न उद्यान आउँदा सङ्ग्रहालय हेर्न पाउँछन् ।’
प्रवक्ता लेप्चाका अनुसार उद्यानको निर्माण गएको श्रावण देखि शुरु गरिएको हो । अहिले यस स्थानमा भिरालो जग्गा मिलाउने काम भइरहेको छ । उद्यानको निर्माण सकिएपछि गुम्बा समितिलाई नै सञ्चालन गर्न दिइने प्रवक्ता लेप्चाको भनाइ छ ।
ओझेलमा परेका सांस्कृतिक सामग्रीसमेत प्रचारका लागि उद्यान उपयुक्त माध्यम हुने गुम्बाका अध्यक्ष प्रेमबहादुर लेप्चाको भनाइ छ ।