
इलाम : पत्रकारिता क्षेत्रको सबलीकरणका लागि स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम आइतबार इलामको चुलाचुली गाउँपालिकामा सम्पन्न भएको छ ।
चुलाचुली गाउँपालिकाको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले सुशासन, पारदर्शिता र विकासमा स्थानीय सञ्चारमाध्यमको महत्वपूर्ण योगदान रहेको भन्दै त्यसलाई सबल बनाउन स्थानीय तहहरूको सक्रिय र दिगो भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
गाउँपालिकाको सभाहलमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले सूचना प्रवाह, सुशासन र स्थानीय विकासमा स्थानीय सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसलाई सबल बनाउन स्थानीय तहले नीतिगत र व्यवहारिक सहयोग पुर्याउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा अध्यक्ष योङहाङले ‘पत्रकारिता क्षेत्रको सबलीकरणका लागि स्थानीय तहको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थानीय सञ्चारमाध्यमहरूको अवस्थाबारे तथ्य र अनुभवसहित जानकारी गराए । उनले भने, ‘सूचना प्रवाहको पहिलो कडी स्थानीय मिडिया हो। यिनको सबलीकरण बिना न स्थानीय सरकारको पारदर्शिता सम्भव छ, न लोकतान्त्रिक अभ्यास । स्थानीय तहले योजना, बजेट र नीतिमा मिडियालाई प्राथमिकतामा राख्नुपर्छ।’
कार्यपत्रमा स्थानीय सञ्चारमाध्यम (टेलिभिजन, एफएम रेडियो, छापा पत्रिका र अनलाइन पत्रिका) लाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने नीतिगत र कानुनी व्यवस्था गर्न, राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने सूचना/विज्ञापन स्थानीय विज्ञापन एजेन्सीमार्फत नै प्रकाशन गर्ने नीतिगत र कानुनी व्यवस्था मिलाउन, स्वलगानी एवम् स्वरोजगारमूलक स्थानीय सञ्चारमाध्यमको विकास र संरक्षणका लागि प्रवर्धनात्मक कार्यक्रमका लागि बजेट विनियोजन गर्नु श्रमजीवी पत्रकारहरुका लागि नियमित अभिमुखीकरण तथा क्षमता अभिवृद्धिका लागि तालिमका लागि बजेट विनियोजन गर्नु सुझाव राखेका छन् ।
साथै, श्रमजीवी पत्रकारहरुलाई प्रोत्साहनका लागि पत्रकारिता पुरस्कार स्थापना गरी पुरस्कृत गेर्ने व्यवस्था मिलाउनु, श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्ति (फेलोसिप) लगायत वैकल्पिक कार्यक्रममार्फत सहयोग गराउने व्यवस्था गर्नु र श्रमजीवी पत्रकार र पत्रकारको परिवारलाई विमा तथा निःशुल्क उपचार गर्ने व्यवस्था गर्नु, पत्रकारहरूसँग नियमित अन्तरक्रिया तथा साझेदारीको संस्कृति विकास गर्नुपर्ने माग राखेका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी एवम् स्थानीय सञ्चारकर्मीहरुले आफ्नो विचार राख्दै पत्रकारिता क्षेत्र र स्थानीय सरकारबीच सहकार्यको सुदृढ आवश्यकता औंल्याएका छन् ।
कार्यक्रममा बोल्दै चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले स्थानीय सञ्चारमाध्यमहरूको सबलीकरणका लागि आफ्नो पालिकाले नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको उल्लेख गर्दै तत्काल कार्यविधि बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । ‘हामीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमलाई समावेश गरेका छ’ अध्यक्ष केरुङले भन्नुभयो, ‘चाँडै कार्यविधि निर्माण गरेर कार्यान्वयन गर्नेछौं ।’
गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बूले पालिकाले पत्रकारिता क्षेत्रको प्रवर्द्धनमा यसपटकदेखि पालिकाले सुरुवात गरेको उल्लेख गर्दै निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा दमक पत्रकार मञ्चका अध्यक्ष कमन देवान, गृहखबर डटकमका निशेष राई, नयाँ पत्रिका दैनिकका चिरञ्जीवि घिमिरे, इलाम टाइम्सका रुद्र गिरीलगायतले पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तह जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघले गर्न नसकेको कार्यक्रम स्वरोजगारमूलक एक मिडिया हाउसले सम्बन्धित पालिकामा नै गएर कार्यक्रम गरेको हो । स्थानीय मिडियाको प्रवर्द्धनका बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले अन्य क्षेत्रमा समेत सो कार्यक्रम आयोजना गर्ने अध्यक्ष योङहाङले बताए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७