
काठमाडौँ, २४ असार । असार अन्तिम हुन लाग्दा मुलुकभर ४५ प्रतिशत अर्थात् छ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सोमबारसम्म मुलुकभर ४५.०३ प्रतिशत अर्थात् छ लाख २३ हजार १०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ ।
गत वर्ष यसै अवधिमा ४३.५ प्रतिशत धान रोपाइँ भएको थियो । समयमा वर्षा सुरु भएकाले गत वर्षको तुलनामा दुई प्रतिशत बढी धान रोपाइँ भएको तथ्याङ्कले देखाएको छ ।
बागमती प्रदेशमा ५१.९ प्रतिशत (६२ हजार ५६० हेक्टर) र कोशी प्रदेशमा २९.५४ प्रतिशत (८१ हजार ६३४ हेक्टरमा) धान रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ ।
सबैभन्दा कम मधेश प्रदेशमा २५.८ प्रतिशत (८१ हजार ६३४ हेकटर क्षेत्रफल) मा धान रोपाइँ भएको छ । तराईमा ढिला धान रोपाइँ गरिने हुँदा मधेश प्रदेशमा कम रोपाइँ भएको निर्देशनालयले जनाएको छ । तराईमा साउनभर धान रोपिन्छ ।
यस वर्ष मुलुकभर १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ । पछिल्लो समय धान रोप्ने क्षेत्रफल घट्दै गएको छ । खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुन थालेपछि धान रोप्ने क्षेत्रफलसमेत घट्दै गएको छ । गत वर्ष मुलुकभर १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भई ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । त्यसबाट धानको उत्पादन चार प्रतिशतले बढे पनि धान, चामलको आयात भने घट्न सकेको छैन ।
स्थानीय उत्पादनले माग धान्न नसक्दा ११ महिनामा ३९ अर्ब रुपियाँ बराबरको सात लाख ५३ हजार मेट्रिक टन धान, चामल र कनिका आयात भएको तथ्याङ्कले देखाएको छ । मुलुकमा वार्षिक ७० लाख मेट्रिक टन धानको माग हुने गरेकोमा अपुग १० लाख मेट्रिक टन खाद्यान्न आयात हुने गरेको छ ।