२९ भाद्र, काठमाण्डौँ । कोरोना भाइरस नियन्त्रणका लागि सम्बन्धित स्वास्थ्य उपकरण आयातको जिम्मा पाई काम गर्न नसकेको ओम्नी समूह कालोसूचीमा परेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ओम्नी बिजनेश कर्पाेरेट इन्टरनेशनल (ओबीसीआई) लाई कालोसूचीमा राखेको जनाकारी छ ।
संसदीय समितिदेखि आम जनताले ओम्नीलाई कार्वाही गर्न चौतर्फी दबाब दिएपछि खरिद कार्यालयले कार्वाही गरेको हो ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा परेको कम्पनीले एक वर्षसम्म सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने पनि जनाएको छ ।
स्वास्थ्य सेवा विभागले गत चैत्र १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्दै थप कार्वाही गर्ने जनाएको थियो ।
सरकारले विभागमार्फत कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकीय उपकरण ओम्नीसँग ल्याउन सम्झौता गरेपनि तोकिएको समयमा सामान ल्याउन नसकेपछि फेरि ठेक्का रद्द गरिएको थियो ।