२५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताउनुभएको छ ।
त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उहाँले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सम्वद्ध निकायलाई निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको बताईएको छ ।
प्रधानमन्त्री ओलीले आज बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गर्नुभएको थियो । त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी हुनुहुन्थ्यो ।