
२० भाद्र, पर्सा । पर्साको वीरगञ्जमा थप एक कोरोना संक्रमित र कोरोना सङ्क्रमणको लक्षण भएका एक बालकको मृत्यु भएको छ ।
कोरोना संक्रमित एक पुरुषको गएराति र कोरोना सङक्रमणको लक्षण भएका बालकको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा विगत १५ दिनदेखि उपचाररत पर्सा पकाहमैनपुर गाँउपालिका–२ निवासी ७५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण गएराति मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले बताउनुभयो ।
सङ्क्रमण पुष्टि भएपछि भाद्र ५ गते कोभिड अस्पताल भर्ना भएका ७५ बर्षीय पुरुष क्षयरोगका बिरामी हुन् भने उनमा पछिल्लो समय दुवै फोक्सोमा कडा खालको निमोनिया समेत देखिएको डा.चौरसियाले बताउनुभयो ।
यसैगरी वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान पर्साको बिरुवागुठी घर भएका १२ वर्षीय बालकको मृत्यु भएको डा.चौरसियाले जानकारी दिनुभयो ।
मृतक बालकको स्वाब सङ्कलन गरी पिसीआर परिक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको डा.चौरसियाले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७