पूर्व अर्थमन्त्री मगरको एक्सन पहल: देउमाईको पुल सुरक्षित बन्दै

पूर्व अर्थमन्त्री मगरको एक्सन पहल: देउमाईको पुल सुरक्षित बन्दै

इलाम । माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको क्षतिग्रस्त पक्की पुलको संरक्षण तथा मर्मतसम्भारको काम अन्तिम चरणमा पुगेको छ । कोशी प्रदेश सरकारमार्फत सुरु गरिएको संरक्षणको काम अघि बढेपछि पुल थप जोखिमबाट जोगिने भएको हो ।
कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको पहलमा पुल संरक्षणका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन भएको थियो ।

स्थानीय जनप्रतिनिधिका अनुसार पुल संरक्षणको काम तीव्र गतिमा अघि बढिरहेको छ । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पुल संरक्षणको लागि जाली लगाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार काम सम्पन्न भएपछि माङ्सेबुङ र देउमाईबीचको आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

गत २०८२ असोज १८ र १९ गते इलाममा परेको अविरल वर्षापछि आएको बाढीले देउमाई खोलाको बहाव बढाउँदा पुलको पश्चिमतर्फको भूभाग कटान गरेको थियो । बाढीले पुलमा क्षति पुर्‍याएपछि माङ्सेबुङ हुँदै देउमाई र इलाम सदरमुकामतर्फ हुने यातायातसमेत प्रभावित बनेको थियो ।

क्षति भएपछि यातायात सञ्चालनका लागि अस्थायी ड्याम निर्माण गरिएको थियो । तर, त्यसमा समेत बाढीले क्षति पुर्‍याएपछि अहिले पुलको दीर्घकालीन संरक्षणका लागि तारजालीसहितको पर्खाल निर्माणलगायतका काम अघि बढाइएको छ । पुल संरक्षणको काम सम्पन्न भएपछि वर्षायाममा खोलाको कटानका कारण उत्पन्न हुने जोखिम घट्ने र पश्चिमी इलामका नागरिकलाई आवतजावतमा सहजता हुने स्थानीयको अपेक्षा छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर