३ भाद्र, धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाले आफ्नो खाली सार्वजनिक जग्गामा वृक्षारोपण गरेको छ ।
संयूक्तराष्ट्र संघ (यू.एन.डि.पि.), सहिदभूमि गाउँपालिका र पर्डेप नेपाल धनकुटाको संयूक्त पहलमा एवोकाडो र आँपको एक हजार विरुवा गाउँपालिकाको साढे तीन सय रोपनि जग्गामा रोपिएको हो ।
वृक्षरोपण अन्र्तगत वडा नं ६ थलथलेमा रहेको डेढ सय रोपनि सार्वजनिक जग्गामा पाँच सय वटा एवोकाडोको विरुवा रोपिएको छ । त्यस्तै वडा नं १ को गोपालपुर विडिटोलमा रहेको दुई सय रोपनि जग्गामा पाँच सय वटा आँपको विरुवा रोपिएको छ । यसका लागि गाउँपालिकाले साढे पाँच लाख बराबरको विरुवा खरिद गरेर ल्याएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदिले बताउनुभयो ।
राेपिएकाे विरूवामा गाई वस्तुको कम्पाेष्ट र गडेउले अर्गानिक मलखादकाे प्रयोग गरिरहेकाे गाउँपालिकाकाे कृषि प्रविधिक खिर प्रसाद राईले बताउनुभयो ।
सहिदभूमि गाँउपालिकाको कार्यक्रम, संयूक्तराष्ट्र संघ (यूएन डिपि)को सहयोग तथा पर्डेप नेपालको समन्वयमा गाँउपालिकाको खाली जमिन छनोट गरेर फलफूलको विरुवा रोप्ने कार्यक्रम अगाडि बढाईएको सहिदभूमि गाँउपालिका अध्यक्ष मनोज राईले बताउनुभयो । आफुहरुले यो कार्यक्रम विश्वमा जलवायू परिवर्तनका कारणबाट विश्वको वतावरणमा प्रभाव परिरहेकाले वातवरण संरक्षणका निमित्त गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै गरी सार्वजनिक जग्गामा रोपिएको आँप र एवोकाडोको विरुवा संरक्षण तथा हुर्काउने, बढाउने जिम्मा स्थानिय किसानहरुलाई दिईएको अध्यक्ष राईले बताउनुभयो । यसबाट विपन्न किसानहरुको आयअर्जनमा समेत सहयोग पुग्ने उहाँको भनाइ छ ।
रोपिएको फलफूलको विरुवा प्रदेश नं १ का प्रदेश सभासदस्य निरन राईको उपस्थितिमा एक कार्यक्रमको बिच अवोलोकन गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सो विरुवा अवलोकन गर्दे प्रदेश सांसद राईले वृक्षारोपण कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउनुभयो । साथै कृषिक्षेत्रको उत्पादनमा बृद्धी गर्नुपर्ने उहाँको भनाई छ । यही योजनकासाथ प्रदेश सरकार र संघिय सरकार लागि परेको पनि उहाँले बताउनुभयो ।