२ भाद्र, झापा । झापामा समुदाय स्तरमै कोरनाको संक्रमण देखिएपछि थप जोखिम बढेको छ । जसका कारण सबैभन्दा बढी जोखिम प्रहरीमा देखिएको हो ।
भारतसँग एक सय ४४ किलोमिटर सिमा जोडिएको झापाका नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाईएका छन् । अपराध नियन्त्रण, शान्तिसुरक्षा, खुल्ला सिमानाको व्यवस्थापन, क्वारेन्टीन व्यवस्थापन तथा समुदाय स्तरमा कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सुरक्षा लगायतका जिम्वेवारी लिएर प्रहरी कर्मचारी अहिले पनि फिल्डमा छन् । जसका कारण कोरण भाइरस संक्रमणको जोखिम प्रहरी कर्मचारीलाई उत्तिकै छ ।
संक्रमण बढेकै कारण झापाका १५ स्थानीय तहमध्ये चार वटा पालिका दमक र मेची नगर तथा दुई वटा गाउँपालिका कमल र बुद्धशान्तिमा अहिलेपनि लकडाउन जारी छ ।
जिल्लामा प्रहरी कर्मचारी सहित ४ सय ३० जनालाई कोरोना संक्रमण भइसकेको अवस्थामा छ । झापामा हालसम्म सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, सर्वसाधारण र भारतबाट आएर क्वारेन्टीइनमा बसेकाहरुलाई कोरोना भाइरस देखिसकेको छ । उच्च जोखिमको वीचमा समुदायमा रहेर कार्य गर्नु पर्ने जिम्मेवारी पाएको प्रहरीले स्वास्थ्य सुरक्षामा थप सजगता अपनाएको छ । प्रतिकुल अवस्थामा प्राप्त सिमित स्रोत साधनको उपयोग गर्दै सुरक्षार्थ प्रहरी कर्मचारीलाई खटाइएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाको भनाई छ ।
कोरोनाको संक्रमण न्यूनीकरण गर्न प्रहरीले माक्स वितरण, भौतिक दुरी कायम गराउने ,लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउने, भीडभाड व्यवस्थापन गर्ने, सीमा सुरक्षा, क्वारेन्टीइन व्यवस्थापन, होल्डिङ्ग एरियाको सुरक्षा लागायतको कार्यहरुमा प्रहरी सक्रिय रुपमा लागेको छ ।