३२ श्रावण, इलाम । इलामको माईजोगमाई गाउँपालिकाले पूर्वधार विकासको कार्यलाई विशेष प्राथमिकता दिईरहेको समयमा शनिबार वडा नं १ मा रहेको शंखाबुङ क्षेत्रका लागि ५० के.भि.ए. ट्रान्सफर्मर लाईनको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष जित बहादुर राईले रिवन काटेर विद्युत विस्तारको उद्घाटन गर्नुभएको हो ।
माईजोगमाई–१ शंखाबुङका स्थानियले विद्युत्त सेवाबाट अत्यधिक पिर खेप्दै आईरहेका थिए । कालो तारमा विद्युत् लामो दुरिमा ल्याउनु पर्ने साथै विद्युत्मा पावर कम हुने भन्दै गुनासो आएपछि सो क्षेत्रमा विद्युत्को ट्रान्सफर्मर राखिएको हो ।
नेपाल विद्युत् प्राधिकरण ईलाम वितरण केन्द्रले सो क्षेत्रको लागि नयाँ टान्सफर्मर, तार तथा आवश्यक अन्य सामाग्रीहरू उपलब्ध गराएको हो । सो क्षेत्रमा थ्रि फेज लाईन समेत बिस्तार भएको छ ।
यसअघि सो क्षेत्रमा १५ के.भि.ए.को टान्सफर्मर रहेको र स्थानियलाई विद्युत्को समस्या धेरै भएकोले उक्त क्षेत्रका बासिन्दालाई सहज रूपमा विद्युत् पुर्याउनको लागि नयाँ टान्सफर्मर राख्नुपरेको गाउँपालिका अध्यक्ष जित बहादुर राईले बताउनुभयो । गाउँपालिकाको सबै क्षेत्रमा अब विद्युत् सहज रूपमा पुग्ने समेत गाउँपालिकाले जानकारी दिएको छ ।
उक्त ५० के.भि.ए. क्षमताको टान्सफर्मरले शंखाबुङ क्षेत्रका दुई सय भन्दा धेरै घरधुरीलाई राहत पुग्ने जनाईएको छ । गाउँपालिकाको अन्य क्षेत्रमा पनि पोल, टान्सफर्मर तथा विद्युत् उपलब्ध नभएको ठाउँमा विद्युत् विस्तारको कार्य पनि अब चाडै सक्ने गाउँपालिकाले जनाएको छ ।
अहिले माईजोगमाई गाउँपालिकाले आफ्नो फिडर सेवा समेत संचालन गरिसकेको छ । फिडर सेवा संचालन भएपछि विद्युत् मर्मत गर्न कम समय लाग्ने माईजोगमाई फ्युज सेवा केन्द्रका शाखा प्रमुख ख्याम कार्कीले बताउनुभएको छ ।