२५ श्रावण, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताउनुभएको छ ।
छब्बीसौँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधान र प्रचलित कानूनअनुसार सम्पूर्ण आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको जनाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने लक्ष्य तय भएकामा महामारीपछि नेपाललगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा खडा भएको चुनौतीको सामना गर्दै सरकार अग्रसर भएको स्पष्ट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वानसमेत गर्नुभएको छ ।