१९ श्रावण, सुनसरी । सुनसरीका अधिकाँश जिल्ला स्तरीय सरकारी कार्यालयहरुले विद्युत महसुल नतिरेको पाइएको छ ।
नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रका अनुसार जिल्ला सदरमुकाम इनरुवाका सरकारी कार्यालयहरुले समयमा विद्युत महसुल तिरेका छैनन् ।
विद्युत महसुल नतिर्ने कार्यालयमा इनरुवा अस्पताल, जिल्ला समन्वय समिति लगायतका दर्जन बढी कार्यालय रहेको छ ।
विद्युत महसुल नतिर्ने इनरुवा जिल्ला अस्पताल माथि ५ लाख ६२ हजार र जिल्ला समन्वय समिति अवास विद्युत महसुलको २ लाख १५ हजार ४९ रुपैयाँ वक्यौता रकम रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ को अवधिमा सरकारी कार्यालयहरुबाट १५ लाख ३९ हजार ८ सय २१ रुपैयाँ वक्यौता असुली गर्न बाँकी रहेको प्राधिकरणका सहायक प्रवन्धक इं रामउदगार साहले जानकारी दिनुभयो ।
प्राधिकरणले विद्युत महसुल नतिरेको बिषयमा सचेत गराएको र अटेर गर्नेहरुलाई कार्वाही समेत गर्दै आएको साहले बताउनुभयो । साहले अति आवश्यक क्षेत्र अस्पताल रहेकाले विधुत नकाटिएको तर भुक्तानीका लागि पत्र काटेको बताउनुभयो ।
यसैगरी जिल्ला समन्वय समितिलाई पनि दुई चोटी पत्र काटिसकिएको बताउनुभयो ।
इनरुवाका रहेको सरकारी कार्यालयहरु मध्ये केहीले मात्र समयमा विद्युत महसुल तिरेका छन् । नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले कोरोनाको महामारी र लामो समय भएको लक डाउनलाई मध्यनजर गर्दै कार्वाही प्रक्रिया अगाडी बढाउन नसकेको प्रमुख साहले बताउनुभयो ।
इनरुवा अस्पताल र जिल्ला समन्वय समिति सुनसरी बाहेकका सरकारी कार्यालयहरुले विद्युत महसुल ४ हजार देखी माथि नै तिर्न बाँकी रहेको भएतापनि तिर्नको लागि चासो नदेखाएको प्राधिकरणका प्रमुख साहले बताउनुभयो ।
सर्वसाधारणहरुले नतिरेको अवस्थामा कार्वाही गर्दै आएको र लकडाउनले गर्दा कार्वाही प्रक्रिया अगाडी बढाउन नसकेको प्रमुखको भनाई रहेको छ ।