१ आश्विन, मुम्वई । भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकबारे नेपालसँग बढेको असमझदारीको संवादको माध्यमबाटै समाधान खोजिने बताएका छन् ।
उत्तराखण्ड जनसंवाद नामक कार्यक्रममा बोल्दै उनले भारतले लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने बाटो निर्माण गरेको तर यसबाट नेपालमा ‘गलतफहमी’ बढेको उल्लेख गरे ।
भारतीय रक्षामन्त्री सिंहले नेपालसँगको सम्बन्ध अरु देशको जस्तो नभएको जिकिर गर्दै यो सम्बन्ध सामान्य खालको नभई ‘रोटी बेटी स्तरको’ भएकाले बसेर संवादमार्फत हल खोजिने स्पष्ट पारे । दुनियाँको कुनै शक्तिले यो सम्बन्धलाई तोड्न नसक्ने उनको भनाई थियो ।
भारतीय रक्षामन्त्री सिंहले यदि धार्चुलाबाट लिपुलेकसम्म सडक बनेकै कारण नेपाली जनतामा कुनै गलतफहमी पैदा भएको भए, त्यसको समाधान मिलेर खोज्न सकिने आफुमा विश्वास रहेको उल्लेख गरे ।
नेपाल सरकारले सुगौली सन्धीअनुसार उक्त भूमि नेपालको भएको भन्दै सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरेको थियो । उक्त नक्साअनुसार निसान छाप परिवर्तन गर्न शनिबार संविधान संशोधन विधेयक पनि प्रतिनिधि सभाबाट पारित भइसकेको छ ।
नेपालले कालापानी क्षेत्र आफ्नो नक्सामा राखेर संविधान नै संशोधन गरिसकेको दुई दिनपछि भारतीय रक्षामन्त्री सिंहले उक्त सडकबारे नेपालमा केही भ्रम रहेको बताएका हुन् ।
‘यो सम्बन्ध त यस लोकको मात्र होइन मलाई लाग्छ यो अर्काे लोकको पनि सम्बन्ध हो र जुन चाहेर पनि बदल्न सकिन्न,’ सिंहले भने,‘बाबा पशुपतिनाथको हामी कसरी भुल्न सक्छौं । बाबा पशुपति नाथ हुन् वा चाहे भारतमा हाम्रा काशीनाथ, विश्वनाथ, सोमनाथ । यी सबैलाई अमरनाथबाट कसैले कसरी अलग गर्न सक्छ ?’
उनले धार्चुलाका अगाडि जतिसुकै तारजाली लगाए पनि यो सम्बन्ध टुट्न नसक्ने बताए ।
‘महाकाली त कलकत्तामा, कामाख्यामा र विद्याञ्चलमा सबै ठाउँमा विद्यमान छ । र महाकालीका भक्त उत्तराखण्डका गाउँगाउँमा छन् भने भारत–नेपालको सम्बन्ध कसरी टुट्न सक्छ ।’
सम्बोधनका क्रममा उनले भारतीय सेनामा रहेका गोर्खा सैनिकको पनि तारिफ गरेका थिए ।