दुई छिमेकी मुलुक संग नेपालको सम्वन्धः सिमा विवादबारे भारत संग वार्ता कहिले होला ?

दुई छिमेकी मुलुक संग नेपालको सम्वन्धः सिमा विवादबारे भारत संग वार्ता कहिले होला ?


८ जेष्ठ, काठमाण्डौँ । ‘सरकार जानै लागेको थियो फलानो देशको राजदुतले अड्याइदियो भन्ने सुनेको छु,’ प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा बोल्दा यसो भन्नुभयो । उहाँले यस्तो बचनहरुलाई निम्सराको संङ्घा दिनुभयो । उहाँले थप्नुभयो, ‘यो सरकार जनताले बनाएको हो ।’

नेपाल कम्युनिस्ट पार्टी भित्र सरकार ढाल्ने खेलहरु भइरहँदा १८ र १९ जेठमा चिनियाँ राजदूत होउ यान्छीको राजनीतिक दौडले ओली सरकार जोगाउन सक्रियता देखाएको चर्चा चलेको थियो । पहिलोपटक चिनियाँ राजदुतको सरकार संकटमा पर्दा देखिनेगरी भएको यो सक्रियताले धेरैलाई आश्चर्यमा पारेको थियो । ओली सरकार जोगाउन चीनले भुमिका खेलेको विषय उठेपछि ओलीले संसदमा यसको जवाफ पनि दिनुभयो ।

चिनियाँ राजदुत होउ यान्छीको सक्रियता संयोग मात्र थिएन । ओली सरकार संकटमा परिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग जेष्ठको तेस्रो हप्ता नै महत्वपूर्ण टेलिफोन वार्ता गर्नुभएको थियो । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे समेत चासो राखिएको विषय परराष्ट्र मन्त्रालयको प्रेस नोटमा उल्लेख छ । ओलीबारे सी जिनपिङको चासो रहेको सन्देश त्यसमार्फत प्रवाह गरियो ।

त्यसपछि राजदुत यान्छी अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी भोलिपल्टै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर भेट्नुभएको थियो । यो भेटको भोलिपल्ट बसेको नेकपा सचिवालय बैठकले जसरी ओलीलाई हटाउन नसक्ने गरी माहोल विकास गर्याे यसले धेरैमा आशंकाहरु जन्मायो । ओली सरकारलाई चीनले बचाइदिएको चर्चा चल्यो ।

राजनीतिक विश्लेषक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीले नेपालको इतिहासमा पहिलोपटक चिनियाँ राजदुत जटिल परिस्थितिमा कुटनीतिक मर्यादा छाडेर नेकपाका नेताहरुको घर घर पुगेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘सारा मिडियामा टुट्दै आँटेको नेकपालाई चिनियाँ राजदुतलाई मिलाइदिएको भनेको होइन ।’

चिनियाँ राजदुतको पहिलोपटक राजनीतिक सक्रियतापछि चर्चाका बीच भारतले लिपुलेक हुँदै चीनसँग लिंकरोड खोलेपछि नेपाली राजनीतिमा तरंग मात्र आएन नयाँ नक्शा जारी सम्मको परिस्थिति निर्माण भयो । नक्शा जारी गर्नु अघि भारतीय सेनापति एम.एम. नरवाणेले भारतले लिंकरोड खोल्दा नेपालले जनाएको आपत्तीप्रति टिप्पणी गर्दै कसैको उक्साहट भने । उनको संकेत चीनतर्फ थियो । यसको जवाफ पनि प्रधानमन्त्री ओलीले दिनुभयो ।

संसदमा ओलीले भारतको कडा आलोचना मात्र गर्नुभएन नेपाली भुमीमा चीनतर्फ १७ वटा चेकपोष्ट राखेको सम्म भन्नुभयो । उहाँले चीनको भन्दा भारतको कोरोना भाइरस कडा रहेछ सम्म भन्नुभयो । यी अभिव्यक्तिले उहाँको भारतप्रति कडा नीति र चीनप्रति नरम नीति समेत देखियो । यतिसम्मकी लिपुलेकबारे बोलेका र कडा नीति ल्याउनुभएका ओलीले सगरमाथाको चुचुरोमा भइरहेको चीनको गतिविधिप्रति भने मौन रहनुभयो ।

चिनियाँ राष्ट्रिय टेलिभिजन सीटीजिएनले सगरमाथाको चुचुरो चीनमा पर्छ भनी तस्बिरसहित प्रचार गर्याे । पछि नेपाल र चीनको सिमामा पर्छ भन्यो । चीनले फाइभजीको टावर राखेर चुचुरोसम्म प्रभाव रहने गरी व्यवस्था गर्याे । चुचुरोतर्फ मार्ग निर्माण गरिरहेको छ । तर, ओलीले यसतर्फ कुनै वक्तव्य दिनुभएको छैन । उहाँको यो नीति चीनको बढी भरोसा भइरहेको बुझाई धेरैको छ । राजनीतिक विश्लेषक समेत रहेका नेपाली काँग्रेसका नेता प्रदीप गिरीले चिनियाँ राजदुतको सक्रियतालाई ओलीको सत्ता जोगाउने खेलसँग मात्र नभई नेकपाको विभाजन बचाउने सम्मको भुमिकाका रुपमा व्याख्या गर्नुहुन्छ । जे होस् नेपालको राजनीतिक इतिहासमा पहिलोपटक चिनियाँ राजदुत लकडाउनको समयमा सत्तारुढ दलभित्र चरम विवाद चुलिंदा जसरी सक्रिय भइन् यसले नेपालको राजनीतिमा धेरै परिवर्तन र नयाँ सम्भावनाका संकेतहरु देखिएको छ ।

भारत नेपालको सम्वन्ध के ?

नेपालले नयाँ नक्शा जारी गरेकै दिन भारतले आपत्ती जनाएको छ । उसले नक्शालाई अस्वीकार गर्ने भनेको छ । नेपालले नयाँ नक्शामा समेटेका भुभाग भारतको रहेको दाबी गरिरहँदा कुटनीतिक वार्ताको विषय पनि उल्लेख गरेको छ । तर, यसका लागि वातावरण बनाउन शर्तको संकेत समेत गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा भारतको औपचारिक धारणा सार्वजनिक गर्दै भनिएको छ, ‘हामी आशा गर्छाैं कि नेपालका नेताले विद्यमान सीमाका विषयमा उठेका विषयको समाधानका लागि कुटनीतिक वार्ताको सकारात्मक वातावरण बनाउनेछन् ।’ उनले भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न समेत भनेको छ ।

भारतले कुटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउन भन्नुलाई अर्थपूर्ण मानिएको छ । नेपालले हिजो जारी गरिएको नक्शाबारे उल्लेख गर्दै यो कदमलाई विद्यमान सीमाका विषय कुटनीति वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिको विरुद्ध हुने भनेका छन् । यसको अर्थ भारतले अब सीमाको विषयमा कुटनीतिक वार्ताका लागि शर्त अगाडि सार्न सक्छ । त्यो शर्त उसले कुटनीतिक माध्यमले राख्न सक्ने सम्भावना देखिएको छ । यसको संकेत हिजोको विदेश मन्त्रालयको विज्ञप्तिले पनि गरेको छ ।

भारतले चीनसँग जोड्ने लिंकरोड लिपुलेक हुँदै खोलेपछि नेपालमा सर्वत्र विरोध हुँदै आएको छ । त्यसको नेपाल सरकारले औपचारिक रुपमा आपत्ती जनाइसकेको छ । भारतीय राजदुत विनयमोहन क्वात्रालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बोलाएर कुटनीतिक नोटिफिकेशन जनाइसक्नुभएको छ ।

नेपालले मन्त्रिपरिषद बैठकबाट लिपुलेक र लिम्पियाधुरासम्मको नेपालको राजनीतिक र प्रशासनिक नक्शा पारित गरेर हिजो औपचारिक रुपमा जारी गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नेपालको भुमि फिर्ता ल्याएरै छाड्ने अठोट गरेका गर्नुभएको थियो ।

उहाँले भारतको चर्काे आलोचना समेत गर्नुभएको थियो । ओलीको भारतप्रतिको आक्रोश र भारतको पछिल्लो धारणाले दुई देशबीचको सम्बन्धमा फेरि संकट ल्याउने अवस्था बन्न थालेको छ । तत्काल वार्ताको सम्भावना पनि नदेखिएकाले विश्वासको संकट अझ गहिरिने सम्भावना बलियो छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर