ओलीबिनाको एमाले सम्भव छैन, जाल बुन्नेहरू सफल हुँदैनन्; प्रधानमन्त्री ओली

ओलीबिनाको एमाले सम्भव छैन, जाल बुन्नेहरू सफल हुँदैनन्; प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई अरूले हराउन नसक्ने बताएका छन् ।

एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिद्ध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए ।

केपी ओलीबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरे । पार्टी भित्र र बाहिरबाट भइरहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।

उनले भने, ‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान् उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो । एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैँसी पर्दैन । हाम्रा विरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन ।’

नेपाललाई एमालेले नसके अरू कसैले बनाउन नसक्ने स्पष्ट गर्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङ मार्ग निर्माणजस्ता अनेकौं विकास र समृद्धिका काम थालनी भएको र त्यसको प्रतिफल आउन थालेको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर