२४ वैशाख, काठमाडौँ । पाकिस्तानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै पाकिस्तानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २२६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । यससँगै पाकिस्तानमा समग्र संक्रमित हुनेको संख्या पनि २२ हजार २५० पुगेका छन् । अघिल्लो दिन पाकिस्तानमा एक हजार ३१५ नयाँ संक्रमित थपिएका थिए ।
यसअघि गत सोमबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मुलुकको अर्थतन्त्रमा सुधार गर्न भन्दै लकडाउन केही खुकुलो बनाउने घोषणा गरेका थिए । पाकिस्तानमा मे ९ सम्म लकडाउन घोषणा गरिएको छ ।
अहिलेसम्म पाकिस्तानमा ५ हजार २१७ जना मानिसहरु निको भएर घर फर्किसकेका छन् ।
यता भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ४९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमित हुनेको संख्या ४९ हजार तीन सय ९१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा दुई हजार नौ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । अघिल्लो दिन भारतमा तीन हजार नौ सय नयाँ संक्रमित थपिएका थिए ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय २६ जनाको मृत्यु भएको हो । अघिल्लो दिन मृत्यु हुनेको संख्या १९५ थियो ।
अहिलेसम्म भारतमा १४ हजार १८३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।