७ माघ / दमक । झापामा यात्रुबाहक सवारी साधनको तीव्र गतिका कारण सडक तथा सवारी दुर्घटना हुने गरेको भन्दै ’टाईमकार्ड’ लागु गरिएको छ । सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यात्रु बाहक सार्वजनिक सवारीसाधनमा पनि ’टाइमकार्ड’ लागू गरेको हो ।
यसअघि टिप्परमा टाइम कार्ड लागू गरिएको थियो भने आइतबारदेखि यात्रुवाहक बसमा पनि यो व्यवस्था लागु गरिएको हो । झापाकै व्यस्तमध्येको दमकस्थित बसपार्कमा बिहानैदेखि टाईमकार्ड लागु गराउन ट्राफिक प्रहरी खटिएको छ । टाईमकार्ड लागु गरिएपछि निर्धारितभन्दा बढी गतिमा सवारीसाधन चलाउन नपाईने ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्माले जानकारी दिनुभयो । जिल्लाका विभिन्न स्थानमा सवारी साधन पुगेको समय कार्डमा उल्लेख हुने र अर्र्को स्थानमा चेक गर्दा तोकिएको समय भन्दा छिटो पुगेमा जरिवाना असुल गरिने जनाईएको छ । टाईमकार्डको नियम अनुसार पश्चिमतर्फ झापा प्रवेशद्वार ताराबारीदेखि विर्तामोडसम्मको ३८ किलोमिटर दुरीलाई एक घण्टाको समय निर्धारण गरिएको छ । यो दुरी पार गर्न निर्धारित समय अवज्ञा गर्ने सवारीचालकलाई दण्डित गरिने छ ।
यस्तै, विर्तामोडदेखि काकडभिट्टासम्मको १७ किलोमिटरका लागि ३० मिनेट समय निर्धारण गरिएको छ । पहिलो चरणमा ट्राफिक प्रहरीले दुइ सय १६ वटा यात्रुबाहक बसलाई टाईमकार्ड वितरण गरेको छ । यात्रुवाहक सवारीसाधनका चालक र सहचालकले बढि यात्रु चढाउन उछिन–पाछिन गर्ने तीव्र गतिमा चलाउने गरेकाले दुर्घटना हुने गरेको पाइएपछि यो नियम लागु गरिएको झापाका ट्राफिक प्रहरी प्रमुख होम अधिकारीले जानकारी दिनुभयो ।