विश्वका शक्तिशाली प्रेम–पत्र !

विश्वका शक्तिशाली प्रेम–पत्र !

२ फाल्गुन, काठमाण्डौँ । युवा जनरल नेपोलियन बोनापार्टलाई विवाहको दुई दिनलगत्तै इटालियन सेनाविरुद्ध लड्न मोर्चामा जानुपर्याे । उनले लडाइँको मोर्चाबाटै आफ्नी पत्नी जोसेफिनलाई प्रेमपत्र लेखे– ‘जोसेफिन, तिमी मेरा लागि अतुलनीय छौं । तिमीबाट टाढा रहँदा जीवनको कुनै पनि आनन्दले मलाई छुँदैन । तिमीबाट अलग रहँदा सारा संसार मेरा लागि विशाल मरुभूमि बन्छ र त्यसको निर्जनतामा म एक्लै भौंतारिने गर्छु–आफ्नो अतृप्त आकांक्षाका साथ ।’

‘मेरो प्राण जोसेफिनकै लागि हो । मेरी प्यारी पत्नी ! थाहा छैन–भाग्यमा मेरा लागि के लेखिएको छ ? तर पनि तिमीबाट म टाढा रहनुपर्याे भने त्यो मेरा लागि असहनीय हुनेछ । मेरो वीरताले पनि त्यस समय सहारा दिने छैन । मलाई यति बिघ्न प्यार गर जोसेफिन जति तिमी आफ्ना आँखालाई गर्छाैं । तर होइन, त्यो पनि कम नै हुनेछ । मलाई आफ्नै बराबर प्यार गर, त्यसभन्दा पनि धेरै आफ्नो हृदय, आफ्नो जीवन, आफ्ना भावनाभन्दा पनि धेरै । तिमी जे हौ, तिम्रोसाथ जे छ, ती सबैभन्दा धेरै मलाई प्यार गर । मेरो सबैभन्दा असल मित्र, मलाई क्षमा गर । म यो बेला पागल हुँदैछु ।’

विख्यात साहित्यकार फ्रान्ज काफ्काकी प्रेमिकाको नाम मिलेना थियो । मिलेनालाई काफ्काले लेखेका थिए,‘म फेरि एकपटक खामबाट चिठी निकाल्दै छु । त्यसमा थोरै ठाउँ खाली छ । त्यो खाली ठाउँमा कृपया एकपटक, सधैंका लागि होइन, बस्, केबल एकपटक फेरि मलाई ’तँ’ भनिदेऊ ।’

इंग्ल्यान्डका राजा हेनरी आठौंका साला लर्ड एडमिरल सेमौरले राजकुमारी एलिजाबेथसामु विवाहको प्रस्ताव राखेका थिए । तर, त्यो प्रस्तावलाई अस्वीकार गर्दै २७ फेब्रुअरी १९४७ मा राजकुमारी एलिजाबेथले लेखेकी थिइन्,‘नौसेनाध्यक्ष, यद्यपि संसारमा मबाहेक अरू कोही व्यक्ति छैन, जो तपाईंको योग्यताको अत्यन्त आदर गर्छ, या जो एक तटस्थ व्यक्तिको रूपमा तपाईंप्रति यत्तिको सराहना भाव राख्दछ, तर म तपाईंप्रतिको आफ्नो यही भावनाको विशेषाधिकार आफ्ना लागि सुरक्षित राख्न चाहन्छु । विवाहको त्यो कठोर बन्धनमा नपरेर नै, जसको कारण धेरै व्यक्ति वास्तविक गुणको स्थितिलाई बिर्सने गर्छन् । तपाईं, महामान्यवर, यस कुरालाई पूर्णतया विश्वास गर्नुस् । यद्यपि मलाई तपाईंकी पत्नी हुनुको सुख अस्वीकार छ, तर पनि तपाईंको महिमालाई गरिमायुक्त बनाउने हरेक कुरामा मेरो निरन्तर रुचि रहनेछ र मलाई तपाईंको सेविका तथा असल मित्र हुनुमा सदैव अत्यन्त प्रसन्नता मिल्नेछ ।’

संसारमा सबैभन्दा छोटो प्रेमपत्र इंग्ल्यान्डका प्रधानमन्त्री ल्यायड जर्जले लेखेका थिए । उनले त्यो पत्र फ्रान्सकी एक नर्तकीलाई पठाएका थिए । त्यो प्रेमपत्रमा ल्वायड जर्जले दुई शब्दमात्र लेखेका थिए, ‘प्रणय याचना ।’ यसको जवाफमा ती नर्तकीले एक शब्दमात्र लेखेकी थिइन्,‘अफसोच !’

लेडी क्यारोलिन सुन्दरी र सनकी पनि थिइन् । उनी इंग्ल्यान्डकी एक उच्च सम्भ्रान्त परिवारकी छोरी थिइन् र उनको विवाह पनि भइसकेको थियो । तिनै विवाहित सुन्दरीसँग प्रसिद्ध कवि वाइरन प्रेममा फसेका थिए । क्यारोलिनलाई वाइरनले यस्तो प्रेमपत्र पनि लेखेका थिए, ’जब मैले तिमीसँग बिदा लिएँ, या यसो भन्नु नै उचित होला कि जब तिमीले आफ्ना पति र आमाप्रतिको कर्तव्य भावनाको कारण मसँग बिदा लियौ तब तिमी मेरो यो वचन र शपथको सत्यतामा विश्वास गर, जसलाई म फेरि दोहोर्याउँदैछु कि कुनै पनि व्यक्तिले मेरो हृदयमा त्यो स्थान कहिल्यै पाउन सक्नेछैन जुन तिम्रा लागि मेरो हृदयमा जीवनपर्यन्त सुरक्षित छ । मन, वचन र कर्मले नै म तिम्रो रहनेछु । मेरो लागि आफूलाई व्यक्त गर्न सम्भव छैन । यो क्षण शब्द निरर्थक छ तर, मलाई यो अभिमान रहनेछ, यो अवसादपूर्ण सुखमा म यस्तो याचना भोग्दैछु, जसको तिमी कल्पनासम्म गर्न सक्दिनौं, यस कारण कि तिमी मलाई राम्रोसँग बुझ्छ्यौ नै कहाँ ? वचन दिऊँ कि तिमीलाई प्रेम नगरूँ ? ओहो क्यारोलिन, यो कुरा वचनको सीमाभन्दा पर छ ।’

बंगाली साहित्यकार प्रसिद्ध उपन्यासकार शरतचन्द्र चटर्जी कोलकत्तामा रहँदा उनका कृतिबाट अत्यन्त प्रभावित एक महिलाले चटर्जीलाई यस्तो चिठी लेखेकी थिइन्,‘म तपाईंप्रति यति बिघ्न मुग्ध भएकी छु कि तपाईंलाई एकपटक नदेखेसम्म मलाई चैन हुनेछैन ।’ यसको जवाफमा चटर्जीले लेखे,‘मेरो अनुहारमा हेर्नलायक कुनै प्रकारको सुन्दरता छैन । बरु, मप्रति तपाईंको यो श्रद्धा मेरो अनुहार देख्नासाथ गाया हुनेछ ।’

एक हप्तापछि ती महिलाले यसको जवाफमा लेखिन–‘के मेरो यो गम्भीर प्रेमको प्रतिदान मिल्ने छैन ? के तपाईं यत्तिको निष्ठुरी हुनुहुन्छ ? सम्राट एडवार्ड आठौंले एक नारीको प्रेमका लागि ब्रिटिस सिंहासन त्यागिदिए र तपाईंजस्तो महिलाप्रति सहानुभूति राख्ने व्यक्तिचाहिँ के एक महिलाको प्रेमनिवेदनलाई लत्याउनुहुन्छ ?’ चटर्जीले यो पत्रको उत्तर दिएनन् ।

अंग्रेजीका प्रसिद्ध रोमान्टिक कवि जोन किट्स फैनी ब्रानको प्रेममा डुबेका थिए । आफ्नो मृत्युको दुई वर्ष पहिले किट्सले फैनीको नाममा यस्तो प्रेमपत्र लेखेका थिए–‘म त प्रेममा विश्वास नै गर्दिनथेँ । मेरो कल्पनामा सधैं यो डर रहन्थ्यो कि कतै प्रेमले मलाई डढाएर खरानी नपारोस् । तर, तिमीले मलाई पूरा प्यार दियौ भने त्यसमा भलै आगो होस्, त्यो हामीले झेल्नै नसक्ने त्यति धेरै कहिल्यै हुने छैन । मेरो हृदयमा तिमी यति गहिराइसम्म पुगिसक्यौ कि तिमीलाई कुनै पनि विपत्ति आएको देख्दा म संरक्षक नभई रहन सक्दिनँ । तिम्रो आँखामा मस्ती, तिम्रो ओठमा प्रेम, तिम्रो कदममा खुसी–यसबाहेक म अरू केही देख्न चाहन्नँ ।’

सारा वर्नार्ड एक सर्वश्रेष्ठ रंगमञ्च अभिनेत्री थिइन् । सन् १८२३ मा सारा र उनका प्रेमी सारदुको निधन भएपछि उनीहरूको प्रेमपत्र प्रकाशित भएको थियो । एक पत्रमा साराले सारदुलाई लेखेकी थिइन्–‘आजको रात तिमी कहाँ छौ ? एक घन्टाअघि तिम्रो पत्र पाएँ– यस्तो निर्मम घन्टा कति राम्रो हुने थियो तिमी मेरो साथमा भइदिए । तिमीविना पेरिसको रौनकता अत्यन्त दुःखदायी बनेको छ । जबसम्म म तिमीसँग परिचित थिइनँ तबसम्म पेरिस पेरिस थियो–मेरा लागि स्वर्ग थियो । तर, अब यो निर्जन मरुभूमिको अनन्त फैलावटजस्तै छ–शून्य, उदास र रित्तो–रित्तो । मेरा लागि तिम्रो शब्द सूर्यको किरण हो, प्रकाश हो, पवनको गति हो । म भोको छु तिम्रा शब्दका लागि । म प्यासी छु र मेरो तृष्णाको आकाशको कतै अन्त छैन । तिम्रा शब्द नै मेरो आहार हो र तिम्रो श्वास मेरो लागि मदिराजस्तै उत्तेजक छ ।’ एजेन्सी, रिपोर्टस नेपाल

प्रतिक्रिया:

सम्बन्धित खवर


Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270