७ कार्तिक, काठमाण्डौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।
आज (शुक्रबार) बिहान वीरेन्द्रनगरमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।
अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताउनुभयो ।
यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो ।
नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । जसमा पूर्वमाओवादी खेमाका ३ र माधव नेपाल पक्षमा ७ सांसदको समेत हस्ताक्षर थियो ।
कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदीय दलमा आउनासाथ मुख्यमन्त्री शाहीले ओली पक्षका प्रमुख सचेतक गुलाबजंग शाहलाई संसदीय दलको नेताबाट हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतक बनाउनुभएको थियो ।