२७ भाद्र, काठमाण्डौँ । तीन वर्षदेखि बन्द रहेको जग्गाको कित्ताकाट अघिल्लो साताबाट खुला भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालको मन्त्रिस्तरीय निर्णयबाट भूमियोग्य जमिनको खण्डीकरणमा रोक लगाउने सम्बन्धमा यसअघि जारी आदेश खारेज गरेसँगै यो कित्ताकाट खुला भएको हो ।
भू–उपयोगसम्बन्धी नियमावली लागु भएपछि नियमावलीअनुसार व्यवस्था हुनेगरी भन्दै तत्कालका लागि त्यस्तो कित्ताकाट खुला गर्ने निर्णय मन्त्री अर्यालले गर्नुभएको थियो । यद्यपि यो निर्णयबारे विवाद उत्पन्न भएको र आदेशको कार्यान्वयन पक्षमा केही अन्यौलता देखिएपछि सम्बन्धित ठाउँमा अहिलेसम्म पनि त्यस्तो निर्देशन पुगिसकेको छैन ।
यो निर्णयसँगै व्यक्तिगत रुपमा घरजग्गाको कारोबार गर्ने व्यवसायी यतिबेला निकै उत्साहित छन् । तर, व्यवसायी भन्दा बढी खुसी जग्गा दलालहरु भएका छन् जसले खरिदकर्ता र बिक्रीकर्तामार्फत सीधा कारोबार गराएर कमिसन लिन्छन् । केही भने सुरुमा बैना रकम दिएर मूल्य निश्चित गर्ने र जग्गा किन्ने ग्राहक खोज्ने समेत गर्थे ।
तर, त्यसरी छोटो समयमै स्वामित्व हस्तान्तरण गर्न भने कित्ताकाटको कारण निकै अप्ठ्यारो थियो । घुमाउरो तरिकाले कित्ताकाट हुँदै आए पनि त्यसको लागि समय लाग्ने भएकोले यस्ता कारोबारीको कारोबार योबीचमा ठप्प हुँदै आएको थियो । त्यही भएर अहिलेसम्म उनीहरु ससाना टुक्रा जग्गाहरुकै कारोबारमा सक्रिय थिए । आफैले लगानी गर्ने व्यवसायीहरुले भने आफ्नो नाममा जग्गा किनेर प्लानिङ गर्ने र मौका पर्दा कित्ताकाट गर्ने गर्थे ।
खुसी छैनन् संस्थागत व्यवसायीः
सामान्यतया जग्गाको कारोबारमा सहजता आउँदा घरजग्गा व्यवसायीहरु खुसी नै हुनुपर्ने हो । तर, यो निर्णयबाट संस्थागत घरजग्गा व्यवसायी (हाउजिङ परियोजना सञ्चालन गर्ने व्यवसायी) भने खुसी छैनन् । उनीहरुले यो व्यवस्थापछि आफ्नो क्षेत्रमा सहजीकरणको सट्टा झनै जोखिम देखेका छन् ।
जग्गाको कित्ताकाट खुले पनि संस्थागत आवास व्यवसायी (हाउजिङ व्यवसायी) लाई प्रत्यक्ष रुपमा कुनै असर गर्दैन । कित्ताकाट खुल्नुभन्दा अघि पनि हाउजिङ परियोजनाको काम रोकिएको थिएन । काठमाडौं उपत्यका विकास प्राधिकरणले त्यस्ता हाउजिङको प्रोजेक्ट सञ्चालनका लागि अनुमति दिँदै आएको थियो । यो प्रक्रिया अब पनि उस्तै हुनेछ ।
-रातोपाटी