५ भाद्र, इलाम । दलितसँग बिवाह गरेकै कारण छोरीलाई मरेका आफ्नै बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिनेहरु तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
इलामको माई नगरपालिकास्थित वडा नं. २ दानाबारीकी यामकला विश्वकर्मा आचार्यलाई दलितसँग विवाह गरेको कारण बुवाको अनुहार हेर्न र काजकिरिया समेत गर्न नदिएपछि उनले दिएको जाहेरीको आधारमा प्रहरीले यामकलाको भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र ठूलो बुवाकी छोरी पार्वती बजगाईं आचार्यलाई पक्राउ गरेको हो ।
जातीय भेदभाव भएको भनि यामकलाले दिएको जाहेरीका आधारमा टिकाराम आचार्यसहित ३ जनालाई पक्राउ गरि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक नवीनकुमार राईले बताए । उनीहरुलाई थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाईने उनले बताए । घटनाको थप अनुसन्धानको लागि पक्राउ गरिएका तीन जनालाई जिल्ला अदालत इलामबाट सात दिनको म्याद थप गरिएको प्रहरी उपरिक्षक राईले बताए ।
बुवाको मृत्युपछि घरमा र घाटमा समेत बुवाको मुख हेर्न नदिएको भन्दै यामकला थप्छिन् मलाई काजकिरिया गर्नबाट समेत बञ्चित गरियो । “उनीहरुलाई पक्राउ गरेपछि न्याय पाउँछु कि जस्तो लागेको छ” यामकलाले भनिन्– “मेरो भावी पुस्ताले यस्तो विभेद र अपमान भोग्नु नपरोस् भनेर नै न्याय माग्न प्रहरी प्रशासनसम्म पुगेको हुँ ।”
करिब १२ बर्ष दलितसँग विवाह गरेकै कारण माइती घरसँगको सम्बन्ध टुटेकी यामकलाका बवाको गत साउन २० गते निधन भएपछि घटनाक्रम विकास भएको थियो । उनले माइती घरभन्दा करिब तीन सय मिटर उत्तरमा घर भएका रत्नबहादुर विश्वकर्मासँग बिवाह गरेकी थिइन् । त्यसबीचमा उनलाई माइती पक्षले बोलाएका थिएनन् । उल्टै गाली, बेइज्जती र अपमान गरेको उनी बताउँछिन् ।
दलितसँग बिवाह गरेकै कारण विभेद भोग्न बाध्य पारिएकी यामकलाका ३ जना सन्तानहरु रहेका छन् । यामकला माई नगरपालिकाकी उपमेयर एवं नगरपालिकाको न्यायिक समितिकी संयोजक समेत रहेकी बिष्णुमायाँ आचार्यकी सहोदर जेठाजुकी छोरी (भतिजी) हुन् ।