१९ श्रावण, काठमाण्डौँ । सरकारले फेरि लकडाउनको तयारी गरेको छ । यसका लागि विज्ञहरुसँग परामर्श थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको अवस्था र अपनाउनुपर्ने उपायबारे विज्ञहरुसँग परामर्श गर्दैछन् । यसलाई सरकारको फेरि लकडाउनको तयारीका रुपमा लिइएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक परे फेरि लकडाउन घोषणा हुनसक्ने बताइसकेका छन् । उनले कोरोना जोखिम बढ्दै गएको भन्दै शतर्क रहन भनेका छन् । ७ साउनबाट लकडाउन अन्तको घोषणा भएपनि त्यसको दुई हप्ता नबित्दै सरकार फेरि लकडाउनको तयारीमा लागेको छ ।
सरकारले छिट्टै सवारीमा जोर बिजोर प्रणाली लागू गर्दैछ । यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिने भएको छ ।
समुदायमा समेत कोरोना फैलिएपछि सरकार गम्भीर भएको हो । पछिल्लो समय कोरोना भाइरस लक्षणसहितको र खतरनाक देखिएको छ । मुख्य शहरहरुमा आइशोलेशन र भ्यान्टिलेटरको अभाव देखिन थालेको छ । अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले तत्काल स्थिति अनियन्त्रित हुन नदिन कम्तिमा दुई हप्ता लकडाउन गर्ने सुझाव अगाडि बढाएको स्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरसको संक्रमित संख्या २० हजार बढेको र मृतक संख्या ५७ पुगेको छ । तर, पछिल्लो समय समुदायमै संक्रमण निकै फैलिइरहेको छ । कतिपय शहरहरुमा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दैः
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा पुगिने ती मन्त्रीको भनाइ छ । यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुगिने उनको भनाइ छ ।
सरकारले हाल लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ । यसअघि लकडाउन खोल्दैमा असन्तुष्टि जनाएका केही विज्ञहरुले पुनः लकडाउन गरिनुपर्ने धारणा राख्दै आएका छन् ।