एक घण्टामै सामान घरमाः मोफसलमा आयो ‘सानो हाट’

एक घण्टामै सामान घरमाः मोफसलमा आयो ‘सानो हाट’

१६ श्रावण, झापा । शिक्षा, स्वास्थ्य, पर्यटन, अनलाईन व्यापार जस्ता नेपालमा धेरै सम्भावना बोकेका व्यवसायहरुको व्यवसायीक थलोका रुपमा काठमाण्डौ उपत्यकाले स्वामित्व लिई सकेको छ ।

पछिल्लो समय उपत्यका बाहिर पनि केही छिटफुट मात्रामा त्यस्ता ब्यवसायिक कम्पनीहरु स्थापित हुन प्रयास गरिरहेका छन् । तर उनीहरुले स्थानीय मागलाई सम्बोधन गर्न भने सकिरहेका छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण जारी लकडाउन केही साता अघि मात्र औपचारीक रुपमा हटेको छ । विस्तारै विस्तारै मानिसहरु सामान्य दैनिकी तर्फ फर्किदैछन् ।

तर यस लकडाउनको समयमा अन्य व्यापार–व्यवसायहरु ठप्प भए पनि अनलाईन व्यापार भने उक्सिएको छ । अनलाईन व्यापारको महत्व पनि बढेको छ । महामारीको समयमा दैनिक उपोभोग्य बस्तुहरु जोखिम मोलेर खरिद गर्न बजार जानु पर्ने बाध्यतालाई अनलाईन व्यापारले सहज गरिदिएको छ ।

आज हामी अनलाईन व्यापारको माध्यमबाट मोफसलमा जिवन खोजिरहेका तीन जना युवाहरु त्रीलोक कर्ण, सुजन राई र पवन शाहको व्यवसायिक अनुभवका बारेमा समाचार प्रस्तुत गर्देछौँ ।

अहिले उनीहरुले पूर्वी नेपालको झापा जिल्लाको सानो शहर, आफ्नै गृह नगर बिर्तामोडमा ‘सानो हाट’ सञ्चालन गरिरहेका छन् । सानो हाट एउटा ‘अनडिमान्ड डेलिभरी हाइपर लोकल ईकमशर्’ प्लेटफर्म हो । नामबाटै स्पष्ट छ, सानो हाट ।

जसले विर्तामोड क्षेत्र वरीपरीका स्थानीयहरुलाई सेवा दिने सानो डिजिटल हाटको पहिचान बनाउँदै गएको छ । यो हाटले स्थानीय सेवाग्राहीहरुलाई अनलाइन अर्डर गरेकै भरमा एक घण्टाभित्र दैनिक आवश्यकताका ग्रोसरी, बेकरी लगायतका खाद्य सामग्री तथा अन्य केयरका सामग्रीहरु घर दैलोमा र्पुयाइरहेको छ । सानो हाटले यस्तो सेवा गरेको केही हप्ता मात्रै भएको छ ।

गएको असार ७ गते सार्वजनिक भएको सानो हाटमा बिर्तामोडका पाँचओटा फूडस्टोर तथा रेस्टुरेन्टहरु जोडिएका छन् । साथै बिर्तामोडको चर्चित किनमेल डिपार्टमेन्ट पनि अहिले सानो हाटको डिजिटल प्लेटफर्मभित्र आफ्नो पसल थाप्न आइपुगेको छ ।

सानो हाटका संस्थापक त्रीलोक कर्ण भन्छन्, ‘डिपार्टमेन्ट स्टोर तथा फूड स्टोरहरुलाई हामीले प्लेटफर्म दिएका छौं । उहाँहरुले आफैं प्रडक्ट लिस्टिङ गर्न सक्नुहुन्छ । प्रमोसन गर्नसक्नुहुन्छ । उहाँहरुसँग लग ईन पनि दिएका छौं ।’

अहिले सानो हाटले वेब एप्लिकेसनबाट खाद्य वस्तुहरुको डेलिभरीका लागि अर्डर लिन थालेको छ ।

मोबाइल एप्लिकेसन समेत निर्माणको चरणमा रहेको छ । सेवाग्राहीहरुले आफूलाई आवश्यक परेको खाद्य वस्तु तथा अन्य सामग्रीहरु सानो हाटको वेब एप्लिकेसनबाट तथा ९८२४९४९८३० नम्बरमा सम्पर्क गरेर अर्डर गर्न सक्छन् ।

बिर्तामोड जस्तो सानो सहर केन्द्रीत भएर होम डेलिभरी सेवा दिने सानो हाट पहिलो ईकमर्श प्लेटफर्म बनेको छ । ‘हाम्रो अन्तिम लक्ष्य भनेको लास्ट माइलसम्म सामान डेलिभरी गर्ने ईकमर्श प्लेटफर्म बन्ने नै हो,’ अर्का संस्थापक सुजन राई भन्छन् ।

विकसित भएर आफ्नो गृहनगरलाई सबैले रुचाएको ‘ईकमर्श’को स्वाद चखाउन बिर्तामोड छिरेको सानो हाटले सेवाग्राहीहरुबाट एकदमै उत्साहजनक प्रतिक्रिया पाइरहेको उनीहरु सुनाउँछन् ।

सानो हाटले गत ११ र १२ जूलाईमा सानो हाट महोत्सव समेत आयोजना गरेका थियो । सर्वसाधारणमा ईकमर्श प्लेटफर्मको सेवा र औचित्यको बारेमा सचेतना फैलाउने उद्देश्यका साथ उक्त महोत्सव आयोजना गरिएको कर्णले सुनाए ।

‘ईकमर्शलाई गल्ली गल्लीमा र्पुयाउने हाम्रो भिजन हो । अहिले हामी बिर्तामोडमा बजार परीक्षण गरिरहेका छौं । दुई तीन महिनामा हामीले इटहरी, बिराटनगर र धरानमा समेत विस्तार गर्ने योजना बनाएका छौं । बिर्तामोड हाम्रो गृहनगर भएका कारण हामीले यसैलाई परीक्षणको बजार बनाएका हौं,’ कर्ण भन्छन् ।

छोटो समयमै सानो हाटले उत्साहजनक प्रतिक्रिया पाउँदै गएको छ ।

अर्ध शहरी क्षेत्रमा राम्रो प्रतिक्रिया पाउनुलाई यसले ईकमर्शसँग परिचित काठमाडौंमा समेत राम्रो गर्न सक्नेतर्फ आँट भर्दै लगेको छ ।

‘अरुले काठमाडौंदेखि बाहिर सेवा विस्तार गर्छन् । हामी स्थानीय क्षेत्रमा राम्रो गर्न सकियो भने काठमाडौं जाने योजनामा छौं । अहिले हामीसँग पर्याप्त लगानी छैन । ठूलो ठाउँमा जानका लागि लगानी पनि खोजिरहेका छौं,’ सुजनले भने ।

सानो हाटको बिजनेस मोडल काठमाडौंका फूडमाण्डु र टूटलको समायोजन जस्तै छ । सानो हाटसँग आफ्नै डेलिभरी सेवा प्रदायक कर्मचारी छैनन् । उसले ‘थर्ड पार्टी राइडर’बाट अर्डरको सामान डेलिभरी गराउँदै आइरहेको छ ।

‘उहाँहरु हाम्रो पेरोलमा हुनुहुन्न । तर डेलिभरीको अर्डर आए पनि नआए पनि निश्चित तलब पाउने हाम्रो सम्झौतामै छ । डेलिभरीको चार्ज जति आम्दानी हुन्छ, त्यसको केही प्रतिशत आफूसँग राखेर बाँकी सबै उहाँहरुलाई नै दिन्छौं,’ कर्णले भने ।

सानो हाटले सामग्रीको डेलिभरी शूल्क सुरुको एक किलोमिटरभित्र २० रुपैयाँ लिन्छ र त्यसपछि प्रत्येक किलोमिटर सात रुपैयाँले थप्दै लैजाने नीति लिएको छ । सानो हाटले एकजनाबाट औषत ४० देखि ४५ रुपैयाँ डेलिभरी चार्जको रुपमा लिने गरेको छ ।

‘डेलिभरी एक घण्टामै दिने बाचा गरेका छौं । तर क्षेत्र सानो छ, हाइपर लोकल भएको कारण छिट्टै हुन्छ । अहिले हामीले बिर्तामोडमा मात्रै काम गरिरहेका छौं,’ सुजनले भने । विदेशबाट फर्केर आएका तथा कलेज पढिरहेका डेलिभरी राइडरहरुले कमाउने काम पाएका छन् । लकडाउनको समयमा सेवाग्राही र पसलहरु पनि लाभान्वित भइरहेका छन् ।

‘हामीलाई दैनिक अर्डर आइरहेका छन् । हाम्रा डेलिभरी राइडरहरुले नभ्याउने गरी अर्डर आइरहेको छ । तीन हप्तामै छ जना राइडरहरु जोडिएका छन् । अहिले दैनिक २० भन्दा धेरै अर्डरहरु आइरहेका छन्,’ कर्णले भने ।

‘यो प्लेटफर्मलाई अपरेट गर्ने काम भने काठमाडौंमै बसेर गरिरहेका छौं । बिर्तामोडमा यस्तो प्लेटफर्मलाई लिएर खासै सचेतना जागिसकेको छैन । जाने बुझेकाहरुले दोर्हाेयाएर अर्डर गरिरहेका छन् । त्यस्ता व्यक्तिहरुले हप्तामा दोर्हाेयाएर अर्डर गरिरहेका छन् । अर्डर आउने बित्तिकै कल गरेर कन्फर्म गरेपछि थ्याङ्क यू कल गरी रिभ्यू र रेटिङ लिने गरिरहेका छौं,’ सुजनले भने ।

महोत्सवपछि पाँच गुणाले अर्डर बढेपछि यी तन्नेरीहरुमा उत्साह झनै भरिएको छ । मोफसललाई पनि स्टार्टअपको मूलधारमा समेट्ने उद्देश्यले सुरु गरेको सानो हाटको सपना ठूलो ईकमर्श खेलाडी बन्ने र सानो समस्यालाई सामान्य रुपमा समाधान गर्दै लैजाने छ ।

‘जसले धेरै लगानी गर्छ, उसको स्टार्टअप चल्छ । तर लगानी सबै कुरा होइन । निरन्तरता र नवीनता पनि मूख्य कुरा हो । काठमाडौंमै एक घण्टामा डेलिभरी हुँदैन । हामी त्यस्तो सेवा दिइरहेका छौं । कोभिड १९ पछि पनि यसको गति अझै बढ्दै जाने अपेक्षा गरेका छौं,’ त्रिलोक कर्ण भन्छन् ।

समयको माग संगै मानिसहरु प्रविधीमैत्री हुन्छन् । नेपालमा भर्खेरै मात्र भित्रिएको अनलाईन व्यापारले अहिले नयाँ युवापुस्ताको ध्यान आर्षित गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर