यस बर्ष झापामा सवारी दुर्घटनाको संख्या घट्यो

यस बर्ष झापामा सवारी दुर्घटनाको संख्या घट्यो


३ श्रावण, झापा । झापामा सवारी दुर्घटनाको घटनामा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा झापामा सवारी दुर्घटनाको घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्कले देखाएको छ । सवारी दुर्घटनामा कम भएसँगै मृतकको संख्या समेत घटेको छ ।

आर्थिक वर्ष २०७५/०७६मा झापामा दुई सय ३९ वटा सवारी दुर्घटना भएका थिए तर, आर्थिक वर्ष २०७६/०७७ मा दुई सय ३१ वटा मात्रै सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या पनि कम भएको ट्राफिक प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा झापामा भएका सवारी दुर्घटनामा परी जम्मा ८६ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा जम्मा ६२ जनाको मात्र मृत्यु भएको छ । मृत्यु हुनेमा महिलाको संख्या १०, पुरुषको ४८ र बालबालिका ४ जना रहेका छन् ।

त्यस्तै एक सय ९४ जना दुर्घटनामा परी गम्भीर घाइते भएका छन् भने १७५ जना सामान्य घाइते भएको बताएको छ ।

यस अवधीमा भएका अधिकाङ्स दुर्घटनामा दुई पाङ्ग्रे सवारी साधनको संलग्नता बढी भएको पाइएको छ । सबैभन्दा धेरै एक सय ७२ दुर्घटनामा मोटरसाइकल र स्कुटर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जवेगूले बताउनुभयो । उहाँका अनुसार जिप र कार दुर्घटनाको दोस्रो स्थानमा पर्ने गरेका छन् ।

अधिकांश दुर्घटना तीव्र गति, मादक पदार्थ सेवन, चालकको लापरवाही रहेको पाइएको छ । सडकको दुरावस्थाका कारण समेत दुर्घटनाको संख्या बढेको उहाँको भनाइ छ ।

दुर्घटनामा २५/४० वर्ष उमेर समूहका चालक तथा पीडितहरु पर्ने गरेको प्रहरी निरीक्षक जवेगूले बताउनुभयो । ट्राफिक प्रहरीले एक वर्षको अवधिमा मादक पदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने तीन हजार ४ सय २९ वटा सवारी चालकलाई कारवाही गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर