अविरल बर्षाः बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति

अविरल बर्षाः बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति


२२ असार, काठमाण्डौँ । मनसुुन सक्रिय हुँदा देशभर भएको घनघोर वर्षाले विपत्ति निम्त्याएको छ । बाढी, पहिरो र डुबानले मानवीय र भौतिक पूर्वाधारमा पनि क्षति पुगेको छ ।

राजधानी काठमाडौंको नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पहिरोले पुरिँदा गोरखाको लखन थापा गाउँपालिका–६ घर भई सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको छ ।

स्याङ्जाको बिरूवा गाउँपालिका–६ मा पहिरो जाँदा ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको मृत्यु भएको छ । ७१ वर्षका माधव शर्मा बेपत्ता छन् ।

तनहुँ, दाङ, नवलपरासी पश्चिम सहितका जिल्लामा केही मानिसहरू बेपत्ता भएका छन् । कयौं ठाउँमा घर, सडक र पुलपुलेसामा क्षति पुगेको छ ।

बागमती र हनुमन्तेमा आएको बाढीले काठमाडौं र भक्तपुरका बस्ती डुबानमा परेका छन् । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नै डुबानमा परेको छ ।

युएन पार्क क्षेत्रमा सडक डुबानमा परेको छ भने बल्खुस्थित तरकारी बजार पनि डुबेको छ ।
कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा आइतबार अझै बढी वर्षा हुने पूर्वानुमान रहेपनि अन्य स्थानमा भने आइतबारदेखि नै तुलनात्मक सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् ।

‘कर्णाली र सुदूरपश्चिम तिर आज रातिदेखि अझै वर्षा बढ्ने सम्भावना छ’, वरिष्ठ मौसमविद शान्ति कँडेलले भनिन, ‘काठमाडौंको हकमा आजभन्दा भोलि केही सुधार हुने सम्भावना छ ।’ काठमाडौंमा भोलि पानी परे पनि आज जस्तो ठूलो पानी नपर्ने उनले बताइन् ।

कोशी र मधेश प्रदेशमा पनि मौसममा सुधार आउने सम्भावना छ । एकरदुई ठाउँमा भने भारी वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी, कर्णालीको तल्लो भूभाग र सुदूरपश्चिममा भने भोलिसम्मै मनसुन सक्रिय हुने पूर्वानुमान छ । ‘आज बागमती, गण्डकी र लुम्बिनीमा वर्षा गराउने प्रणाली केन्द्रित छ भने भोलि लुम्बिनीको पश्चिमी भूभाग, कर्णालीको तल्लो भूभाग र सुदूरपश्चिममा केन्द्रित हुनेछ’, वरिष्ठ मौसमविद कँडेलले भनिन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।

त्यस्तै गण्डकी प्रदेशको स्याङ्जा, कास्की, पर्वत आसपासमा तथा लुम्बिनी प्रदेशको पाल्पा, दाङ, अर्घाखाँची लगायतका स्थानहरूमा अति भारी वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको कुमालगाउँ स्टेसनमा मापन भएको छ ।

त्यहाँको वर्षा मापन केन्द्रमा ४०८.२ मिलिमिटर वर्षा रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार राति ११ बजेदेखि शनिबार दिउँसो १ः३० बजेको अवधिमा मात्रै ३७८.६ मिलिमिटर वर्षा भएको देखिन्छ ।

२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा भएको मानिन्छ ।
अहिले पनि देशका अधिकांश स्थानहरूमा वर्षा भइरहेको र अझै वर्षा हुने सम्भावना रहेकाले भोलिसम्मै विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मौसमविद सुदर्शन हुमागाईंले मनसुन न्यून चापीय रेखा नेपालको भूभाग नजिक रहेकाले त्यसको प्रभावमा अति भारीदेखि मध्यम खालको वर्षा भएको बताए । यद्यपि यो वर्षा अपेक्षित नै रहेको उनको भनाइ छ ।

‘विगतका वर्षमा पनि अति भारीदेखि भारी वर्षा भएको छ । हामीले त्यो क्षण बिर्सिएर मात्रै हो’, मौसमविद हुमागाईंले भने, ‘हरेक वर्ष नै एक–दुई दिनमै पाँच सयर६ सय मिलिमिटर वर्षा भएको हुन्छ । मनसुन सक्रिय भएको बेला यस्तो वर्षा हुनु सामान्य हो ।’

वरिष्ठ मौसमविद शान्ति कँडेलले मनसुनको यही दिनमा अति भारी वर्षा मापन भएका स्टेसन विगतको भन्दा धेरै छन् कि थोरै छन् भनेर अध्ययन गर्न भने बाँकी भएको बताइन् ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको प्रक्षेपणमा पनि यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने उल्लेख थियो ।

जुलाईदेखि सेप्टेम्बरसम्मको ३ महिनाको जम्मा वर्षा औसत (३ महिनाको) भन्दा बढी हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म रहेको विश्व मौसम संगठनमा आवद्ध भएका १२ वटा जलवायु प्रारुपले गरेको आँकलनबाट देखिन्छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको उत्तरी भूभागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ६०देखि ७० प्रतिशतसम्म छ । अन्य बाँकी भूभागमा भने औसतभन्दा बढी वर्षा हुने सम्भावना ५०देखि ६० प्रतिशतसम्म छ।

‘साधारणतया, औसतभन्दा बढी वर्षा हुँदा भारी वर्षा हुने दिनहरु पनि बढी हुने हुन्छ। जसले गर्दा डुबान, बाढी तथा पहिरो लगायतका घटना पनि धेरै हुने गर्छ’, वरिष्ठ मौसमविद एवम् हावापानी विश्लेषक डा. इन्दिरा कँडेलले भनिन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर