रैथाने बाली सिमलतरुलः माङसेबुङका बारीमा लुकेको सम्भावना

रैथाने बाली सिमलतरुलः माङसेबुङका बारीमा लुकेको सम्भावना

माङ्सेबुङ ४ मर्चेबुङमा मकै संग कृषकले लगाएको सिमलतरुल

इलाम । नेपाल जैविक विविधताको दृष्टिले विश्वका धनी मुलुकमध्ये एक हो । विविध भूगोल, फरक–फरक हावापानी तथा जातीय–सांस्कृतिक विविधताले यहाँ असंख्य रैथाने बालीहरूको अस्तित्व र उपभोग चलिआएको छ । यिनै रैथाने बालीहरूले शताब्दीयौंदेखि नेपाली समाजको खाद्य सुरक्षा, पोषण, संस्कृति र जीवनशैलीलाई समृद्ध बनाउँदै आएका छन् । तर पछिल्ला दशकहरूमा आधुनिक कृषि प्रणाली, उन्नत जातका बाली, बजारमुखी उत्पादन, युवाको विदेश पलायन, जलवायु परिवर्तन, जंगली जनावर तथा खेतीयोग्य जमिन बाँझिने क्रमसँगै धेरै रैथाने बालीहरू विस्तारै हराउने जोखिममा पुगेका छन् ।

नेपाल सरकारले पछिल्लो समय रैथाने बाली संरक्षण, जैविक विविधता प्रवद्र्धन र स्थानीय खाद्य प्रणालीलाई बलियो बनाउने नीति लिएको भए पनि धेरै स्थानीय बालीहरू अझै अनुसन्धान, बजारीकरण र सरकारी प्राथमिकताभन्दा बाहिर छन् । यिनै ओझेलमा परेका तर अत्यन्त सम्भावना बोकेका कन्दवालीमध्ये एक हो ‘सिमल तरुल’ । पूर्वी नेपालको पहाडी क्षेत्रमा विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा पाइने सिमल तरुल स्थानीय समुदायको परम्परागत खाद्य संस्कृतिसँग जोडिएको रैथाने बाली हो ।

इलाम जिल्लाको माङसेबुङ गाउँपालिका विशेषगरी वडा नं. ३, ४ र ५ यस बालीको उत्पादनका लागि अनुकुल क्षेत्र मानिन्छ । यहाँका अधिकांश परिवारले आफ्नै उपभोगका लागिमात्र सिमल तरुल रोप्ने गरेका छन् । तर यसको व्यवसायिक खेती भने अहिलेसम्म सुरु हुन सकेको छैन ।

सिमल तरुलः परम्परा र स्वादसँग जोडिएको रैथाने कन्दबाली

सिमल तरुल नेपालको रैथाने कन्द बालीमध्ये एक हो । स्थानीय भाषाअनुसार यसको नाम फरक–फरक भए पनि इलामको माङसेबुङ क्षेत्रमा यसलाई ‘सिमल तरुल’ या ‘सिमली’ नामले चिनिन्छ ।

यो बहुवर्षीय बाली हो । यसको बोट जमिनमाथि बुट्यान (साना रुख जस्तो) हुन्छ भने तरुल अथवा कन्द जमिनमुनि विकसित हुन्छ । राम्रो वातावरण पाएमा एउटा बोटबाट ८/१० केजीसम्म तरुल फल्दछ । तरुलको आकार गोलो लाम्चो हुन्छ भने स्वाद नरम र अत्यन्त स्वादिष्ट हुन्छ ।

उत्पादनका लागि आवश्यक हावापानीः

कृषि विज्ञहरूका अनुसार सिमल तरुल समशीतोष्णदेखि न्यानो समशीतोष्ण हावापानीमा राम्रो उत्पादन हुन्छ । यसका लागि उपयुक्त स्थान समुद्री सतहदेखि करिब ३ सय देखि १३०० मिटर उचाइलाई मानिन्छ । यसको खेतीका लागि वार्षिक १२००–२५०० मिलिमिटर वर्षा आवश्यक पर्दछ भने १८ देखि ३० डिग्री सेल्सियस तापक्रम र पानी नजम्ने हल्का भिरालो जमिन वा बलौटे दोमट माटो राम्रो मानिन्छ ।
माङसेबुङ गाउँपालिकाको भूगोल यी सबै विशेषतासँग धेरै मेल खान्छ । यही कारण यहाँ सिमल तरुल प्राकृतिक रूपमा निकै राम्रो उत्पादन हुने गरेको स्थानीय कृषकहरू बताउँछन् ।

यस्तै सिमल तरुल धेरै सिँचाइ आवश्यक पर्ने बाली होइन । रोपेको सुरुवाती अवस्थामा माटोमा पर्याप्त चिस्यान आवश्यक पर्छ । त्यसपछि वर्षाको पानीले नै सामान्यतया यसको वृद्धि हुन्छ । अत्यधिक पानी जमेमा तरुल कुहिन सक्छ भने लामो समय खडेरी परे उत्पादन घट्ने सम्भावना हुन्छ । यस कारण पानी नजम्ने, राम्रो निकास भएको जमिन यो खेतीका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।

माङ्सेबुङ ४ सिंफेरेमा रतुवा किनारमा लगाईएको सिमलतरुल

उत्पादन र पोषणः

सिमल तरुल पोषणयुक्त मानिन्छ । यसमा मुख्यतः कार्बाेहाइड्रेट, फाइबर, पोटासियम, क्याल्सियम, फलाम तथा भिटामिन बी समूहका तत्व पाईन्छन् । यसले शरीरलाई ऊर्जा दिनुका साथै पाचन प्रणालीलाई पनि राम्रो बनाउने गर्दछ ।

माङसेबुङ क्षेत्रका स्थानीयस्तरमा सिमल तरुलका उपयोगिता धेरै छन् । मुख्यगरी उसिनेर खाजाको रूपमा खाने, पाहुनालाई स्थानीय परिकारका रूपमा दिने, गाउँघरका सांस्कृतिक तथा धार्मिक जमघटमा प्रयोग गर्ने, मर्चा प्रयोग गरी जाँड बनाउने, जाँडबाट निगार निकाल्ने गरिन्छ । यसरी हेर्दा सिमल तरुल केवल खाद्यबाली मात्र नभई स्थानीय संस्कृतिको महत्वपूर्ण हिस्सा पनि हो ।

माङसेबुङमा सिमल तरुलको सम्भावनाः

इलामको माङसेबुङ गाउँपालिका प्राकृतिक सम्पदाले धनी पालिका हो । धार्मिक, सांस्कृतिक तथा जैविक विविधताले सम्पन्न यस गाउँपालिकाको दक्षिणी भूगोल सिमल तरुल उत्पादनका लागि उपयुक्त मानिन्छ ।

विशेषगरीः वडा नं. ३ को मनिपुर, खलङ्गे, रतुवाबेँसी, लामिटार, वडा नं. ४ तिनदोभाने, सिमलटार, मार्चोबुङ, सिंफेरे, चारपहिरे, दोभान वडा नं. ५ लारुम्बा दक्षिण क्षेत्रमा सिमल तरुल अत्यन्त राम्रो उत्पादन हुने स्थानीयहरू बताउँछन् । अचम्मको कुरा के छ भने उत्पादन राम्रो भए पनि यसलाई आयआर्जनको माध्यम बनाउन भने कसैले सकेको छैन, चाहेका छैनन् ।

प्रायः प्रत्येक परिवारले केही बोट रोप्छन् तर त्यो आफ्नै घरको खाजा, पाहुनाको सत्कार वा छिमेकीसँग बाँड्नका लागिमात्रै सीमित छ । व्यवसायिक खेतीको अभ्यास भने अहिलेसम्म सुरु भएको छैन ।

किसानका कुराः जंगली बादरको आतंक र बजारको अन्योलता

माङसेबुङ ३, ४ र ५ मा किसानहरुसँग गरिएको संवादले एउटा साझा यथार्थ उजागर गर्छ—“सिमल तरुल फलाउन समस्या छैन, जोगाउन समस्या छ र यसको बजार अध्ययन नै गरिएको छैन ।” स्थानीय कृषक, शिक्षक र समुदायका अगुवाहरूको अनुभवले सिमल तरुलको सम्भावना जति ठूलो छ, चुनौती पनि त्यत्तिकै गम्भीर रहेको देखाउँछ ।

हामी खाजाका लागि मात्र रोप्छौँः नानिकाजी राई

वडा नं. ४ तिनदोभानेका स्थानीय समेत रहेका स्थानिय दुर्गम आधारभूत विद्यालयका शिक्षक नानिकाजी राई सिमल तरुललाई गाउँको परम्परागत खाद्य बालीका रूपमा सम्झन्छन् । “हाम्रो क्षेत्रमा अत्यन्तै राम्रो गरी फल्छ तर अहिलेसम्म हामीले बजारमा बेच्ने गरी रोपेका छैनौँ । प्रायः खाजा खानका लागि मात्र रोप्छौँ । गाउँका धेरैजसो परिवारले अलिअलि रोप्छन् । धेरै फल्दा छिमेकीसँग बाँडेर खान्छौँ,” उनका अनुसार सिमलतरुलको मुख्य प्रयोग उसिनेर खाने हो । धेरै उत्पादन भए मर्चा लगाएर जाँड बनाइन्छ र त्यसको निगार समेत लामो समयसम्म प्रयोग गरिन्छ । तर पछिल्ला वर्षहरूमा खेती घट्नुको प्रमुख कारण जंगली जनावर भएको उनी बताउँछन् । “पहिला बाँदरले मकै, कोदो र जुनेलो खाएर दुःख दिन्थ्यो । अहिले त सिमलको तरुल कहाँ छ भनेर खनेर निकालेर खान सिकिसकेको छ । पहिला बोट भाँच्थ्यो, अहिले तरुल नै खनेर खन्छ ।”

नानिकाजी राईको यो अनुभवले वन्यजन्तुको बदलिँदो व्यवहारले स्थानीय कृषि प्रणालीमा नयाँ चुनौती थपिएको स्पष्ट देखाउँछ ।

कृषक; भक्तबहादुर राई

शरणार्थीहरु तरुल किन्न आउथेः भक्तबहादुर राई

वडा नं. ४ सिमलटारका भक्तबहादुर राई विगत सम्झँदै भन्छन्, ‘तरुल नफल्ने होइन, साह्रै राम्रो फल्छ । पहिला दमक–२ मा भुटानी शरणार्थी शिविर हुँदा मानिसहरू घरमै आएर सिमलतरुल किन्थे । कतिपयले किरासन तेल, खाने तेल, नुन, दाल लिएर तरुल साटासाट गर्न गाउँ आउथे ।’
उनका अनुसार त्यतिबेला उत्पादन केही बढेको थियो । तर अहिले गाउँ रित्तिँदै गएको छ । युवाहरू विदेश पलायन भएका छन् र जंगली जनावरबाट खेती जोगाउन कठिन छ । ‘अहिले बारेर आफै खान र पाहुनालाई कोसेली दिन मात्र अलिअलि रोप्छौँ ।’

धार्मिक क्षेत्रका पाहुनाका लागि विशेष खाजाः राजकुमार साँवा

वडा नं. ३ मनिपुरका कृषक राजकुमार सावाँका अनुसार सिमल तरुल स्थानीय धार्मिक संस्कृतिसँग जोडिएको बाली हो । ‘हाम्रो क्षेत्र धार्मिक क्षेत्र भएकाले यहाँ आउने पाहुना र साधुसन्तलाई सिमल तरुल राम्रो खाजाका रूपमा दिन्छौँ ।’ तर उनी पनि जंगली जनावरकै समस्या दोहोर्याउँछन । ‘बाँदर र जंगली मुसाबाट बचाउनै गाह्रो छ । बेच्ने गरी खेती गरेका छैनौँ, धेरै फल्दा छिमेकीलाई बाँड्छौँ र आश्रममा पनि पुर्याइदिन्छौँ ।’ साँवाले पछिल्लो समय उत्पादनमा आएको परिवर्तनबारे पनि सुनाए । ‘पहिलाभन्दा अहिले तरुल साना हुन थालेका छन् । बढ्दो विषादी प्रयोग र जलवायु परिवर्तनको पनि असर होला ।’

खलङ्गे, मनिपुर

लारुम्बामा पनि उस्तै अवस्थाः शुक्र फागो

वडा नं. ५ लारुम्बाका शुक्र फागो भन्छन्, ‘लारुम्बा आसपासमा पनि सिमल तरुल राम्रो फल्छ तर कसैले व्यवसायिक खेती गरेको देखेको छैन । घरमै खान र पाहुनालाई दिनका लागि १०–१५ बोटसम्म रोप्छौँ ।’ उनका अनुसार पहिले दुम्सी र मुसाले दुःख दिन्थे भने अहिले बाँदर सबैभन्दा ठूलो चुनौती बनेको छ ।

वडा नं. ४ मा ९५ प्रतिशतले सिमल तरुल रोप्छनः दाताराम खनाल

माङसेबुङ वडा नं. ४ को सिमलटारमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक दाताराम खनाल २०७३ सालदेखि यहाँ कार्यरत छन् । करिब १ दशकको अनुभवमा उनी भन्छन्, ‘यहाँका करिब ९५ प्रतिशत घरधुरीले सिमल तरुल रोप्ने गर्छन् तर सबैले आफूलाई खानका लागिमात्र ।’ उनका अनुसार स्थानीयले सिमल तरुल उसिनेर मर्चा लगाएर जाँड पनि बनाउँछन् र त्यसको निगार पनि प्रयोग गर्छन् ।

तर पछिल्ला वर्षहरूमा जंगली बाँदरको आतंक अत्यधिक बढेको उनी बताउँछन् । ‘अघिल्लो वर्ष मात्रै सिमलटारबाट १३ घरधुरी विस्थापित भए । कृषकले लगाएको कुनै अन्नबाली बाँदरले बाँकी राख्दैन ।’ यति कठिन अवस्था हुँदाहुँदै पनि उनी सिमल तरुलको सम्भावनाप्रति आशावादी छन् । ‘३ वर्षअघि शिक्षक साथीहरूसँग व्यवसायिक खेती गर्ने योजना बनाएका थियौँ । मैले करिब ५० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव पनि राखेको थिएँ । साथीहरु सकारात्मक पनि हुनुहुन्थ्यो, हाम्रो योजना तत्कालीन कोशी प्रदेशका अर्थमन्त्री राम रानालाई पनि सुनाएका थियौँ तर ठूलो उत्पादन हुँदा बजारको समस्या हुने जोखिमले योजना अघि बढेन ।’

लारुम्बा

मुख्य उत्पादन क्षेत्रहरुः

माङसेबुङ गाउँपालिकाकी पूर्वउपाध्यक्ष सुनिता सुब्बाका अनुसार सिमल तरुल विशेष गरी वडा नं. ३ को मनिपुर, खलङ्गे, रतुवाबेँसी, लामिटार र वडा नं. ४ अधिकांश भूभागमा रोपिन्छ । त्यस्तै वडा नं. ५ को लारुम्बा क्षेत्रमा भस्मे फाडेर लगाउँदा राम्रो फल्ने गरेको सुब्बाले बताइन् । तर यी कुनै पनि क्षेत्रमा व्यवसायिक खेती सुरु भएको छैन ।

किसानको माग आए कार्यक्रम ल्याउन तयार; गाउँपालिका

माङसेबुङ गाउँपालिका कृषि विकास शाखाकी नायव प्राविधिक सहायक निरुपा राईका अनुसार गाउँपालिकाले कृषि क्षेत्रमा सञ्चालन गर्ने अधिकांश कार्यक्रम स्थानीय किसानको मागका आधारमा तय गर्दै आएको छ ।

उनका अनुसार गाउँपालिकाले हाल अलैँची प्रवद्र्धन, बेसार प्रवद्र्धन, सजिवन (मोरिङ्गा) ब्रान्डिङ तथा अन्य नगदेबाली, अन्नबाली तथा रैथानेबाली प्रवद्र्धन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । तर सिमल तरुलका सम्बन्धमा भने हालसम्म कुनै औपचारिक प्रस्ताव वा माग नआएकाले यससँग सम्बन्धित विशेष कार्यक्रम सञ्चालन गरिएको छैन ।

उनले भनिन्, ‘हामीले किसानकै मागका आधारमा कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । सिमल तरुलका विषयमा अहिलेसम्म कुनै माग आएको छैन । यदि किसानबाट माग आयो भने गाउँपालिकाले रैथाने बाली प्रवद्र्धनअन्तर्गत आवश्यक कार्यक्रम ल्याउन सक्छ ।’

सिमल तरुल किन व्यवसायिक बन्न सकेन ?
क. बजार र यातायातको अन्योलताः

अध्ययनका क्रममा सबैसँगको संवादबाट केही साझा कारणहरू देखिए । सबैभन्दा ठूलो समस्या बजारको सुनिश्चितता हो । स्थानीय किसान उत्पादन गर्न तयार देखिए पनि ठलो मात्रामा उत्पादनपछि बिक्री कहाँ गर्ने भन्ने अन्योलता छ । सिमल तरुल खेती बारेमा किसानहरुलाई पर्याप्त जानकारी नभएको पाईयो । अर्को तर्फ भित्र गाउँका सडकहरु १२ महिनै सञ्चालनमा समस्या छ । त्यही भएर पनि व्यवसायीक रूपमा लगानी गर्न किसानहरु अन्योलमा देखिन्छन् ।

ख. जंगली जनावर;
पहिला मुसा, दुम्सी र बँदेलले केही क्षति पुर्याए पनि अहिले रातो बाँदर सबैभन्दा ठूलो चुनौती बनेको स्थानीयहरूको अनुभव छ । विशेषगरी बादरले जमिन खनेर तरुल निकाल्ने गरेको समस्या धेरै किसानले सुनाए ।

ग. बसाइँसराइ र वैदेशिक रोजगार;
युवा पुस्ता वैदेशिक रोजगार र शहरमुखी बसाइँसराइतर्फ लागेपछि खेतीयोग्य जमिन बाँझिँदै गएको छ । श्रमिक र जनशक्ति अभावले परम्परागत खेती निरन्तर घटिरहेको छ ।

घ. अनुसन्धान र प्राविधिक सहयोगको अभाव;
सिमल तरुलको जात सुधार, उत्पादन प्रविधि, रोग–कीरा व्यवस्थापन, बीउ संरक्षण तथा प्रशोधनबारे पर्याप्त अनुसन्धान भएको देखिँदैन । सरकारी निकायको प्राथमिकतामा नपर्दा किसानले पनि परम्परागत अभ्यासमै सीमित रहनुपरेको अवस्था देखियो ।

ङ. मूल्य अभिवृद्धि नहुनु;
हाल सिमल तरुल प्रायतः उसिनेर खाने वा जाँड बनाउन मात्र प्रयोग हुने गरेको छ । स्थानीयस्तरमा यसको चिप्स, पिठो, प्याकेजिङ, प्रशोधित खाद्यवस्तु वा ब्रान्डीङ उत्पादन गर्ने कलकारखानाको विकास भएको छैन । त्यसैले उत्पादन सिजनको समयमा यसको मूल्य प्रतिकेजी १० रुपौँयासम्म झर्ने गरेको किसानहरुको भनाई छ ।
तर यति धेरै चुनौती हुँदाहुँदै पनि सिमलतरुलको सम्भावना निकै उज्ज्वल देखिन्छ ।

लारुम्बाको भस्मे फाड्ने पाखा

सम्भावनाका पक्ष हेरौँः
क. रैथाने बालीः
रैथाने बाली भनेको स्थानियस्तरमै प्राकृतिक रूपमा विकास भएर प्रयोगमा ल्याइएको बाली हो । यसको खेतीको लागि अन्य बालीलाई जस्तो हेरचाह र स्याहारको आवश्यक्ता पर्दैन । छुट्टै टनेल वा फर्म हाउसको आवश्यक्ता पर्दैन । रैथाने खेतीका लागि स्थानीय वातावरण र भूगोल नै अनुकुल भएकाले नस्ल सुधार र जंगली जनावरबाट बचाउन सकियो भने राम्रो उत्पादन गर्न सकिन्छ ।

ख. अर्गानिक उत्पादनः
माङसेबुङमा अधिकांश किसानले रासायनिक मल तथा विषादीको प्रयोग नगरेकाले यहाँको सिमल तरुललाई अर्गानिक उत्पादनका रूपमा विकास गर्न सकिन्छ ।

ग. स्वास्थ्यकर खाद्यः
विश्वभर प्राकृतिक, स्थानीय तथा पोषणयुक्त खाद्यप्रति आकर्षण बढिरहेको छ । ऊर्जा र फाइबरयुक्त कन्दबाली भएकाले सिमल तरुललाई स्वास्थ्यकर खाद्यका रूपमा प्रवद्र्धन गर्न सकिन्छ ।

घ. पर्यटनसँग जोड्ने अवसरः
माङसेबुङ धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य हो । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय परिकारका रूपमा सिमल तरुल पस्कन सकिन्छ । यसले स्थानीय होटल, होमस्टे र कृषि पर्यटनलाईसमेत टेवा पुर्याउन सक्छ ।

ङ. स्थानीय ब्रान्डिङः
“माङसेबुङको बेसार’’ “माङसेबुङको मोरिङ्गा पाउडर’’ “माङसेबुङको बोमाक/सिलाम’’ भनेजस्तै सिमल तरुललाई पनि प्रसोधन गरी पिठो, चिप्स तथा साबुदाना बनाएर स्थानीय ब्रान्ड विकास गरी प्याकेजिङ र बजारीकरण गर्न सकिन्छ ।

च. किसान समूहमार्फत व्यवसायिक खेतीः
एकल किसानभन्दा सामूहिक उत्पादन, सहकारी वा किसान समूहको अवधारणा विकास गरेर व्यवसायिक खेती गर्न सकिन्छ । यसरी समुहिक खेती प्रणालीमार्फत काम गर्दा उत्पादन, संकलन र बजार व्यवस्थापन सहज हुन सक्छ ।

र अन्त्यमाः
सिमल तरुल केवल एउटा कन्दबाली मात्र होइन, यो माङसेबुङको इतिहास, संस्कृति, खाद्य परम्परा र स्थानीय जीवनसँग गाँसिएको रैथाने सम्पदा हो । किसानहरूको अनुभवले स्पष्ट भन्छ कि यस बालीको उत्पादनमा कुनै समस्या छैन, समस्या यसको संरक्षण, वन्यजन्तुबाट जोगाउने उपाय र बजार व्यवस्थापनमा छ ।

वडा नं. ३, ४ र ५ का अधिकांश परिवारले अहिले पनि सिमलतरुल रोप्छन् । उनीहरूका लागि यो दैनिक खाजा, पाहुनाको सत्कार, कोसेली र धार्मिक संस्कार अनुसारको आहार हो । तर यति महत्वपूर्ण बाली अझै पनि यस क्षेत्रको नीति, अनुसन्धान र व्यवसायिक कृषि योजनाको केन्द्रमा आउन सकेको छैन ।

यदि स्थानीय तह, किसान, सहकारी, प्रदेश सरकार, अनुसन्धान संस्था र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य हुनसके सिमल तरुलले माङसेबुङको आर्थिक विकासमा नयाँ सम्भावना सिर्जना गर्न सक्छ । वन्यजन्तु नियन्त्रण, बजार सुनिश्चितता, ब्रान्डिङ, प्रशोधन र कृषि पर्यटनसँग जोड्ने रणनीति अपनाईएमा अहिले घरायसी उपभोगमा सीमित रहेको यो रैथाने बाली भविष्यमा प्रदेश १ कै पहिचान बन्न सक्ने सम्भावना राख्छ ।

यसर्थ रैथाने बालीको संरक्षण भनेको केवल एउटा बाली बचाउनु मात्र होइन, स्थानीय ज्ञान, संस्कृति, जैविक विविधता र खाद्य सार्वभौमिकताको रक्षा गर्नु पनि हो । त्यसैले माङसेबुङको सिमल तरुललाई अब परम्पराको स्वादमा मात्र सीमित नराखी आर्थीक समृद्धि, कृषि उद्यमशीलता र स्थानीय पहिचानसँग जोड्ने बिषयमा सबैको पहल आवश्यक छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर