
इलाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) इलाम जिल्लाको कार्यदल बैठकले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनाल सहित उम्मेदवार सिफारिस गरेको छ । विजय खम्बुको अध्यक्षतामा साविक नेकपा (एकीकृत समाजवादी) को निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यालय फिक्कलमा सम्पन्न भएको बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिनिधि सभा (प्रत्यक्ष), समानुपातिक तथा राष्ट्रिय सभा तर्फका उम्मेदवारहरूको नाम पार्टी प्रदेश समिति र केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) तर्फ झलनाथ खनाल, खिनु लङवा, रणबहादुर राई, तेजबहादुर राई र विपिन पोख्रेल सिफारिस भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ बाट ओम गुरुङ, शान्ता बस्नेत, प्रवास शर्मा आचार्य, सुरेन राई (मिसन) र नयन राईको नाम सिफारिस गरिएको नेकपाका नेता हर्क लावती (कान्छा) ले जानकारी दिए ।
समानुपातिक तर्फ खस आर्य समूहबाट झलनाथ खनाल, आदिवासी जनजाति समूहबाट हर्क लावती (कान्छा), खुल्ला तर्फ भक्त लुङेली, टेकबहादुर राई र लालबहादुर सुब्बा, दलित समूहबाट लक्ष्मण घतानी तथा महिला समूहबाट सावित्री देवी राई सिफारिस भएको छ ।
यसैगरी राष्ट्रिय सभा तर्फ खस आर्य समूहबाट भक्त केसी र सावित्रा गड्तौला, दलित समूहबाट चित्रकला बराइली र दीपक सिन्चिउरी तथा खुल्ला महिला समूहबाट सावित्रा पोख्रेल सिफारिस गरिएको बैठकले जनाएको छ । बैठकले पार्टीको नीति, सिद्धान्त, समावेशिता तथा संगठनात्मक आवश्यकतालाई आधार मानी उम्मेदवारहरूको छनोट सर्वसम्मत रूपमा गरिएको प्रवाश शर्मा आचार्यले जानकारी दिए ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७