८ फानुग, काठमाण्डौँ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकारको निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन पेशी चढेको छ ।
न्यायाधीशद्धय डा.कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज रिटको सुनुवाई हुने भएको हो । किरात याक्थुङ चुम्लुङका प्रतिनिधि आईन्द्रकुमार लिम्बुको वारिस अमृता थेबेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार समेतलाई विपक्षी बनाउँदै गत माघ १८ गते रिट दायर गरेकी थिइन् ।
सो रिट यसअघि दुईपटक हेर्न नभ्याइनेमा परेको छ । माघ ३० गते न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले छलफलको सूचना दिने आदेश गरेको थियो ।
पाथीभरा माता केबलकार कम्पनीले अघि बढाएको केबलकार निर्माण परियोजनाको विषयमा स्थानीय नै दुईफाटो भएका छन् । केही स्थानीयले निर्माणको समर्थन गरिरहँदा पहिचानवादी समूह र ‘नो केबलकार’ समूहले विरोध गरेको छ ।