३ फागुन, झापा । जनता समाजवादी पार्टी नेपालका पूर्व प्रदेश नं. १ समितीका अध्यक्ष प्रविण चाम्लिङ नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्र दमक नगर अधिवेशनको उद्घाटन समारोहकाबीच पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उहाँलाई खदा र रुद्राक्षको माला लगाईदिएर पार्टी प्रवेश गराउनुभएको हो ।
गणतन्त्रको संवाहक नै माओवादी १० बर्षे जनयुद्ध आन्दोलन रहेको र यो व्यवस्थाको संरक्षण गर्न माओवादी पार्टी मात्रै ईमान्दार रहेको निश्कर्ष सहित आफु माओवादी प्रवेश गरेको चाम्लिङले बताउनुभयो ।
माओवादी आन्दोलनको जगमा महिला, दलित, आदिवासी तथा समग्र पिछडीएका वर्गले समानुपातिक समावेशीताको आधारमा अधिकार पाएको र पहिचानको मुद्धा स्थापित गर्न महत्वपुर्ण भुमिका खेलेकाले आफुले माओवादी रोजेको उहाँले बताउनुभयो । “पहिचान भनेको एक जाती, एक भाषा र एक व्यक्तिलाई मात्र होईन, जनै लाउने देखी सहनाई फुक्नेसम्मको पहिचानको सुरक्षा हुनुपर्छ, भाषाको शुरक्षा हुनुपर्छ, संस्कृतीको संरक्षण हुनुपर्छ” उहाँले भन्नुभयो “तर आज लोकतान्त्रिक गणतन्त्र राज्यमा तानाशाह र जंगवहादुरहरुको जन्म भईरहेको छ, संस्कृती माथी धावा बोलिई रहेको छ, भाषा र विकाश माथी धावा बोलिई रहेको छ, यो अवस्थामा मैले एक मात्र विकल्प देखे, यो मुलुकको लोकतान्त्रिक गणतन्त्रको संवाहक माओवादी १० बर्षे जनयुद्ध हो, त्यसैले जसले जन्मायो उसलाई मात्र माया हुन्छ, यो लोकतन्त्रिक गणतन्त्रको जन्मदाता नै नेकपा माओवादी भएको कारणले गर्दा यो लोकतन्त्रको, यो संघियताको, पहिचान र गणतन्त्रको रक्षा माओवादीबाट मात्र हुन सक्छ भनेर म आज नेकपा माओवादी पार्टी प्रवेश गर्दैछु ।”
दमकका चर्चित पहिचानवादी नेताको रुपमा परिचित चाम्लिङको नेतृत्वमा करिव पाँचसय जनाले माओवादी प्रवेश गरेका थिए ।