३ पौष, झापा । कोशी प्रदेशका प्रर्वमुख्यमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुई दलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ–नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार असफल भए देशका ठूला दल असफल हुने बताउँदै दुई दलीय स्पीड अनुसार नै कार्य गर्नुपर्ने बताउनुभएको हो ।
नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेले स्थानीयदेखि संघीय सरकारसम्मका गतिविधि प्रभावकारी बनाउन ‘सत्ता साझेदार दल राजनीतिक संयन्त्र’ बनेको बताउँदै स्थानीय तहमा विधानतः दुई दलका पार्टी सभापति, निर्वाचित जनप्रतिनिधि एवं दुई दलले सिफारिस गरेका दुइ–दुईजना सदस्य रहने ब्यवस्था रहेको जानकारी दिनुभयो ।
सभापति थेवेको सभापतित्वमा सम्बन्न बैठकले आगामी पौष १६ गते विशेष सांगठनिक अभियान समापनसँगै जिल्ला पार्टी कार्यालयमा जिल्लास्तरीय भेला आयोजना गर्ने र पौष २४ गते नेपाली कांग्रेस कोशी प्रदेश समितिको आयोजनामा कचनकबल–सगरमाथा जागरण यात्रा केचनास्तम्भमा आयोजना गर्ने निर्णय गरेको सचिव नविन विमलीले जानकारी दिनुभयो । यसको पूर्वतयारीका लागि झापाका पाँचवटै क्षेत्रमा पौष १८ गतेदेखि २० गतेसम्म क्षेत्रस्तरीय बैठक सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ ।