
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद खगेन्द्र सुनारले विवाहेत्तर सम्बन्ध कायम राखेकी महिलासँग गरेको फोन सम्वादको अडिओ अहिले चर्चामा छ । उनले ती महिलामाथि गरेको हिंसा श्रृङ्खला भने संवादमा सुनिएजस्तै कल्पनाभन्दा बाहिरको छ ।
सुनारले नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेशसभा सदस्य तथा राज्यमन्त्रीसमेत भएकी महिलासँग विवाहेत्तर सम्बन्ध राखेका थिए । नुवाकोटको पञ्चकन्या गाउँपालिकाकी बासिन्दा ती महिला अहिले अमेरिका उड्ने तरखरमा रहेकी छन् । उनका छोरा ३ वर्षदेखि अमेरिकामा अध्ययन गर्दैछन् ।
त्यसैले देश छाड्नुअघि विवादमा पर्नुभन्दा उक्त अडिओमा सुनिएको आवाज आफ्नो नभएको भन्दै आएकी छन् । तर, घटनाका जानकारहरू उनको कुरा स्वीकार्न तयार छैनन् । बरु, सांसद सुनारबाट निरन्तरको हिंसा सहँदै आएकी उनी अहिले अमेरिका जाने तरखरमा लागेकी छन् ।
जानकार स्रोतका अनुसार उनले आफ्नै भिनाजुसँग विवाह गरेकी थिइन् । दिदीकै सौता भएपछि गाउँमा बस्न अप्ठेरो भएर काठमाडौं बस्ने गरेकी थिइन् । नेपाली कांग्रेसका नेता प्रकाशशरण महत र उनी एउटै गाउँका बासिन्दा हुन् । महतले उनलाई एक गैरसरकारी संस्थामा जागिरका लागि सहजीकरण गरिदिएका थिए ।
उनकै सदासयतामा २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनका क्रममा समानुपातिक बन्दसूचीमा परेकी थिइन् र सांसद पनि भइन् । २०७८ साल कात्तिक ११ गते तत्कालीन नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त भएपछि पुस ९ गते मन्त्रिपरिषद् विस्तारका क्रममा ती महिला सोही मन्त्रिपरिषद्मा स्वास्थ्य राज्यमन्त्री थिइन् । सुनारसँग त्यसअघिबाटै उनी निकट थिइन् ।
राज्यमन्त्री नियुक्तलगत्तै कुटिइन्, सुनार प्रहरी हिरासतमा
२०७८ पुस ९ मा राज्यमन्त्री नियुक्त भएकी ती महिलाले काठमाडौं, सीतापाइलास्थित शरणपुरमा एउटा फ्ल्याट भाडामा लिएकी थिइन् । राज्यमन्त्रीको शपथ ग्रहणपछि काठमाडौं फर्किएकी थिइन् । शरणपुरस्थित फ्ल्याटमै पुगेका सुनारले लेनदेनसम्बन्धी विवादका क्रममा ती महिलालाई कुटपिट गरेका थिए ।
उनी घरको भुइँतलामा रहेको फ्ल्याटमा बस्थिन् । भर्खरै नियुक्त भएकी राज्यमन्त्रीलाई ‘अपरिचित पुरुष’ ले कुटपिट गरी शरीरका संवेदनशील अङ्गमा चोट लागेको देखेर उनको सुरक्षार्थ खटिएकी पिएसओ महिलाले प्रहरी प्रधान कार्यालयस्थित सुरक्षा सेवा निर्देशनालयमा रिपोर्ट गरिन् ।
सोही रिपोर्टका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख तत्कालीन एसएसपी सुदीप गिरीले प्रहरी वृत्त स्वयम्भूलाई ती ‘अपरिचित पुरुष’ लाई तत्कालै नियन्त्रणमा लिन आदेश दिए । वृत्तका कार्यालय प्रमुख तत्कालीन डीएसपी मिलन केसी थिए । उनी आफैँ राज्यमन्त्रीको शरणपुरस्थित निवासमा गएर ‘अपरिचित’ भनिएका पुरुष खगेन्द्र सुनारलाई पक्राउ गरेका थिए । उनले प्रहरीलाई आफू ‘दलित अभियन्ता तथा पत्रकार’ को परिचय दिएका थिए ।
स्वयम्भू प्रहरीको हिरासतमा राखिएपछि सुनार चिसोले कठ्याङ्ग्रिए, लगलग कामिरहेका थिए । उनलाई त्यहाँ पुर्याइएको केहीबेरमै घाइते अवस्थाकी राज्यमन्त्री पनि पुगिन् । उनले आफ्नो जिम्मामा छाडिदिन आग्रह गरिन् । तर, स्वयम्भू प्रहरीले बहालवाला राज्यमन्त्रीलाई हातपात गर्ने मानिसलाई बिनाकारबाही छोड्न नसकिने भनी फर्काइदियो । नछुट्ने भएपछि ती महिलाले सुनारका लागि न्यानो कपडाको व्यवस्था गरिदिएकी थिइन् ।
पक्राउ परेको भोलिपल्ट जिल्ला प्रहरीकै निर्देशनअनुसार दुईजनाबीच मिलापत्रको कागज गरेर छाडिएको प्रहरी स्रोतले जनाएको छ ।
सीतापाइला घटनाको केही समयपछि फेरि चितवनको सौराहामा सुनारले ती महिलामाथि कुटपिट गरेका थिए । कुटपीट गरेर भागेका थिए । उक्त घटनाबाट मुख सुन्निएपछि उनी एक साता मन्त्रालय गएकी थिइनन् ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७