४ साउन, झापा । झापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म पाँच सय ९३ सवारी दुर्घटना परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको हो ।
सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो । सडक दुर्घटनामा परी एक सय ६४ गम्भीर र आठ सय तीन जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै पाँच सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।
प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीपरकार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् । वर्ष आव २०७९/८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ ।
आव २०७९।८० मा आठ सय चार सडक दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाएका थिए । ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमले बताउनुभयो ।