६ असार । झापाको बिर्तामोडमा अनेरास्ववियुको प्रचार भेला सुरु भएको छ। दुई दिनसम्म चल्ने प्रचार भेलामा प्रदेशका सबै जिल्लाहरुबाट अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको छ।
अनेरास्ववियुले कोशी प्रदेशबाट सुरु गरेको प्रचार यात्रालाई सातै प्रदेशमा सञ्चालन गरिने बताइएको छ । अनेरास्ववियु कोशी प्रदेश कमिटीले आयोजना गरेको प्रचार भेलामा विद्यार्थीहरुलाई पछिल्लो समय विकास भएका सूचना प्रविधिका बारेमा सहजीकरण गरिने छ । डिजिटल माध्यमहरुबाट प्रचारलाई व्यवस्थित र रचनात्मक बनाउन सहभागी विद्यार्थीहरुलाई सहजीकरण गरिने कोशी प्रदेशका प्रचार विभाग प्रमुख नारायण पोखरेलले जानकारी दिए।
भेलाको उद्घाटन सत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् जनसंगठन विभाग प्रमख भानुभक्त ढकालले रचनात्मक कार्यक्रमको माध्यमबाट नयाँ नेपाल निर्माणमा अनेरास्ववियुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले विद्यार्थीहरुलाई क्षमतावान मान्छेहरु राजनीतिमा आउनुपर्ने बताए । क्षमतावान मान्छेहरु राजनीतिमा आएन भने क्षमता नभएका मान्छेहरु राजनीतिमा आउनेछन्, प्रमुख वक्ता समेत रहेका ढकालले भने – विद्यार्थीहरु अनेरास्ववियुको माध्यमबाट देश निर्माण गर्न सक्छु, नयाँ नेपाल निर्माणमा भिजनसहित काम गर्न सक्छु भन्ने अठोटका साथ राजनीतिमा आउन जरुरी छ ।
उनले युवा तथा विद्यार्थी पुस्ता अनिवार्य रुपमा अनेरास्ववियुमा आवद्ध हुन आवश्यक रहेको बताए । असल मान्छे बन्नका लागि अनेरास्ववियुमा जोडिन जरुरी रहेको उनको भनाई छ । अनेरास्ववियुमा जोडिएपछि घर, परिवार समाजले अनुभूति गर्छ, किनभने अनेरास्ववियुका विद्यार्थीहरु अनुशासित, लगनशिल, जिम्मेवार हुन्छन् – उनले थपे ।
एमाले नेता ढकालले प्रचार भेलामा सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । उनले राष्ट्र निर्माणका लागि रचनात्मक प्रचारको माध्यमबाट समाजमा योगदान गर्न सकिने बताए ।
यस्तै, कार्यक्रममा पार्टीका पोलिटव्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्ज विशाल भट्टराईले पार्टीको पक्षमा बोलेर, लेखेर प्रचार गर्दै बलियो पार्टी निर्माणमा जुट्न आव्हान गरेका छन् । उनले बलियो पार्टी निर्माण नगरेसम्म देश नबन्ने भन्दै एमालेलाई बलियो पार्टी बनाउने गरि लाग्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । विरोधीहरुबाट डराउन जरुरी नरहेको भन्दै उनले भने – ठिक ढंगलाई काम गर्दै जानुपर्छ, सबै विरोधीहरु आफै ठिक लाग्ने छन् । उनले मिसन ८४ सफल बनाए, देश सफल हुने उनको भनाई थियो । त्यसका लागि एमालेलाई बहुमत दिन अनिवार्य भएको बताए ।
नेता भट्टराईले इलामको उपनिर्वाचनको उदाहरण दिदैं भने,– प्रचारलाई रचनात्मक बनाउन सकियो भने परिणाम पनि पक्षमा पार्न सकिन्छ । यो प्रचार र सञ्चारको जमाना भएको भन्दै उनले रचनात्मक सामग्रीबाट जनता समक्ष सहि विचार पुराउन सकिने र हजारौं मत पक्षमा पार्न सकिने बताएका हुन् ।
उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विद्यार्थी इञ्चार्ज किशोरविक्रम मल्ल, दिपक कार्की, जिल्ला पार्टी अध्यक्ष प्रेम गिरी, अनेरास्ववियुका केन्द्रीय सचिव मनोज ताम्ली, पार्टीका जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रचार विभाग प्रमुख आर विक्रम ओखेडाले प्रचार भेलामा विद्यार्थीहरुलाई दुई दिनसम्म विभिन्न विषयहरुमा सहजीकरण गरिने जानकारी दिए । उनका अनुसार समाचार, भिडियो, फोटो समाचार र कार्यक्रमको समाचार लेखन सम्बन्धी विषयमा सुसन धमलाले सहजीकरण गर्ने छन् । यस्तै, प्रचार यात्राका बारेमा प्रचार विभाग प्रमख ओखेडा, ग्राफिक्स डिजाइनका बारेमा अमिर श्रेष्ठ र ह्याजट्याग मोमेन्ट विषय सहजीकरण मनिष प्याकुरेलले गर्ने बताइएको छ ।