बिर्तामोड नगरपालिकाद्वरा महिला कृषकहरुलाई बाख्रा वितरण

बिर्तामोड नगरपालिकाद्वरा महिला कृषकहरुलाई बाख्रा वितरण

२९ जेठ, झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गरेकी हुन् । समूहमा रहेका १५ जनाले तीन–तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् ।

मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यति नै संख्यामा बाख्रा अर्काे समूहलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । सोमवार प्रदान गरिएको बाख्रा वडा नम्बर ८ को किसानभिट्टा व्यवसायिक तथा पशुपालन कृषक समूहबाट उपलव्ध गराईएको हो।

नगरपालिकाले आर्थिक वर्ष २०७४–०७५ यता ७ सय २१ वटा बाख्रा वितरण गरिसकेको छ । साथै यस अवधिमा २ सय ४० वटा खोर पनि निर्माण गरेको छ । बाख्रा वितरण गरेपछि नगरपालिकाले खोर निर्माणसँगै बीमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले ग्रामीण महिलाहरुको आर्थिक उपार्जनका लागि सञ्चालन गरिएको बाख्रा साटासाट कार्यक्रम प्रभावकारी बनेको बताइन् । उनले स्थानीय सरकारको अभ्यास सुरु भएसँगै मेयर पकेट कार्यक्रम सञ्चालन भएको र बाख्रा, बंगुर साटासाट कार्यक्रमले नगरपालिकाको लक्ष्य प्राप्त गरिरहेको धारणा राखेकी हुन् । महिलाहरुले बाख्रा पालन सुरु गरेपछि छोराछोरीको शिक्षा, चाडपर्व र घर खर्च चलाउन सघाउ पुगेको भन्दै नगर प्रमुख प्रसाईले बाख्रालाई राम्रो पालनपोषण गरेर मनग्य आम्दानी लिन आग्रह गरिन्।

बिर्तामोडमा बाख्रा पालनमा १५ वटा महिला कृषक समूह रहेको पशुपंछी तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । उनले यस कार्यक्रम अन्तर्गत कृषकहरुले वार्षिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिएकी छन् । नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो ।

आर्थिक विकास समिति संयोजक संगिता सिवाले सानो लगानी भए पनि यस कार्यक्रमबाट राम्रो आम्दानी गर्न सकिने बताइन् । उनले नगरका विविध कार्यक्रमहरुमा बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भएकी बताएकी हुन् । शिवाको अध्यक्षतामा आयोजित बाख्रा वितरण कार्यक्रममा सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर