२७ जेठ, इलाम । चुलाचुलीका गाउँपालिकामा आज पालिकास्तरिय आप्रवासी संञ्जाल समिती गठन भएको छ । आप्रवासी हकहित संरक्षण केन्द्र जिल्ला समिती इलामको आयोजनामा चुलाचुलीमा भएको एक अभिमुखीकरण कार्यक्रमकाबीच वैदेशिक रोजगारबाट फर्किएका चुलाचुली ५ का तुलवहादुर तामाङको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको हो ।
कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै उनले नेपालमा विदेश जानु पर्ने बाध्यात्मक अवस्था रहेकाले यसलाई व्यवस्थित र शुरक्षित वनाउन आवश्यक रहेको बताए । आफुपनि ९ बर्षसम्म रोजगारीका लागि हंङ्कङ बसेकाले वैदेशिक रोजगारसंग सम्वन्धीत धेरै समस्याहरुका बारेमा जानकार रहेको बताए । वैदेशिक रोजगारमा जानेलाई शुरक्षित र व्यवस्थीत बनाउन आप्रवासी हकहित संरक्षण केन्द्रको हरेक अभियानमा पालिकाको तर्फबाट साथ र सहयोग रहने बताए ।
कार्यक्रमका विशेष अतिथी पालिका उपाध्यक्ष दिलु योङ्हाङले पनि वैदेशिक रोजगारलाई थप शुरक्षित बनाउन पालिकाको सहयोग रहने बताईन् । विदेशबाट फर्किएका युवाहरुलाई गाँउमै उद्यमी र रोजगार बनाउने आप्रवासी हकहित संरक्षण केन्द्रको अभियानमा पनि आफुहरुको सधै सहयोग रहने उनले बताईन् ।
कार्यक्रममा बोल्दै आप्रवासी हकहित संरक्षण केन्द्र जिल्ला समिती इलामका सह–सचिव नविन सुन्दर शेर्माले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको वैदेशिक रोजगारीलाई व्यवस्थित र शुरक्षित बनाउन आवश्यक रहेको बताए । जनचेतना अभावका कारण धेरै कामदारहरु एजेन्टबाट ठगिने गरेको उनले बताए । विदेश पुगेका कामदारहरुमा शिप नहुँदा पनि धेरैले समस्या भोग्नुपरेको उनले बताए । यसकालागि जनचेतना मुख्य अवश्यक्ता रहेको भन्दै उनले सरकारी मान्यता प्राप्त मेनपावर मार्फत मात्र विदेशको लागि प्रोसेस गर्न सुझाव दिए । विदेश जादा भरपाई गरेर मात्र मेनपावरलाई पासपोर्ट र रकम दिन उनले सुझाए । अनिवार्य शिप सिकेर मात्र विदेश जानुपर्न उनको भनाई छ ।