६ जेठ । इलामको माङसेबुङ गाउँपालिकाबासी श्रमदानमा जुट्न थालेका छन् । ‘हप्ताको ६ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि’ भन्ने मूल नाराका साथ स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको अगुवाईमा श्रमदानमा जुट्न थालेका हुन् ।
समूहले सुरूवात गरेको श्रमदान अभियानमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङसहित विभिन्न वडाबाट सहभागिता सुरु भएको छ । समूहले शनिबार दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) अन्तरगत माङसेबुङ गाउँपालिका-२ र ३ को सीमानामा पर्ने भोटेडाडाँ हुँदै बगरेसम्म्को सडकखण्ड मर्मत गरेको छ ।
सालैपिच्छे बर्खा लागेपछि सवारी आवतजावत निकै कष्टकर हुने गरेकाले श्रमदान मार्फत मर्मत गरिएको समूहका अभियान्ता प्रबिन लिम्बूले जानकारी दिए ।
सो सडक निर्माण सुरु भएको तिन दशक बिसक्दा समेत निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । पछिल्लो समय कालोपत्रका लागि भएको ठेक्का समेत रद्ध भएपछि स्थानीयबासी निराश भएका छन् ।
पुर्व-पश्चिम राजमार्गको दमक पोइन्टबाट करिब ३४ किलोमिटर लम्बाई रहेको सडक पश्चिमी पहाडी क्षेत्रको समृद्धिसँग जोडिएको छ । सो सडक निर्माणमा सरकारको विशेष ध्यानाकर्षण होस् भन्ने उद्देश्यले श्रमदान गरिएको समूहले जनाएको छ ।