५ जेठ । लागुऔषधको कुलतबाट विद्यार्थीलाई जोगाउन झापामा विद्यालय लक्षित सचेतनामूलक अभियान तीव्र बनाइएको छ ।
शिवसताक्षी नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा लागुऔषधको कुलत नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम पुर्याउन अभियान सुरु गरेको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । नेपाल स्काउटको नगर समितिसँग सहकार्यमा नगरपालिकाले भगवती माध्यमिक विद्यालयबाट अभियान सुरु गरेको छ । आगामी एक महिनाभित्र नगरभित्रका २२ वटा माध्यमिक तहका विद्यालयका एक हजार विद्यार्थीमाझ अभियान पुर्याउने नगरपालिकाको योजना छ।
“लागुऔषधको डढेलोले परिवार, गाउँ र समाज सखाप हुँदै गएको छ”, नगरप्रमुख थोप्राले अभियानबारे जानकारी दिँदै भन्नुभयो, “अहिले जसरी दुव्र्यसन फैलिँदै आएको छ, यसको जडबाटै निराकरण गर्ने हो भने विद्यार्थीलाई सचेत गराउनुपर्छ भन्ने निष्कर्षमा पुगेर यो अभियान सुरु गरिएको हो ।”
नेपाल स्काउटको शिवसताक्षी नगर समितिका संयोजक डिगम पराजुलीले गाँजा, चरेस र मदिराको दुव्र्यसनमा फँसेका विद्यार्थीलाई मुक्त बनाउन र यसको नकारात्मक असरबारे जागरण ल्याउन अभियानमा स्काउट कार्यकर्ता सक्रिय रहेको बताउनुभयो ।
मेचीनगरको वडा नं १, २, ३ र ४ मा बाहुनडाँगी जेसिजले विद्यार्थी लक्षित लागुपदार्थको दुव्र्यसन रोकथाम अभियान सञ्चालन गरिरहेको छ । ‘बाहुनडाँगी जेसिजको अभियानः लागुऔषधरहित समाजको पहिचान’ नामक एक साताव्यापी अभियानलाई १५ वटा विद्यालयका सात सय विद्यार्थीमाझ पुर्याउने लक्ष्य लिइएको जेसिजका अध्यक्ष देबु बानियाँले बताउनुभयो ।
“लागुऔषधका कारोबारीहरूले विद्यार्थीलाई उपभोक्ता बनाएका कारण समाजमा भयावह अवस्था सिर्जना भइरहेको छ”, बाहुनडाँगी जेसिजका अध्यक्ष बानियाँले अभियानको औचित्य प्रष्ट्याउँदै भन्नुभयो, “यसको नियन्त्रण गर्न विद्यार्थीमाझ नै जानुपर्छ भनेर जेसिजले आफ्नै स्रोतसाधनले अभियान चलाएको हो ।”
लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा शाखाका प्रहरी नायब निरीक्षक कुमार लामिछानेले पछिल्लो समय खुला सिमानाको फाइदा उठाउँदै लागुऔषधको ओसारपसारमा वृद्धि भएको जनाउँदै यसलाई न्यूनीकरण गर्न विद्यार्थीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरीले पनि समुदायसँगको साझेदारीमा लागुऔषधविरुद्ध चेतनामूलक कार्यक्रम गरिरहेको जनाएको छ । ब्यूरोले मेचीनगरका विभिन्न विद्यालयमा गएर लागुऔषधको दुव्र्यसनबाट जोगिन विद्यार्थीलाई आग्रह गर्दै आएको लामिछानेले बताउनुभयो ।
नारी सञ्चारगृह झापाले भद्रपुर नगरपालिकासँगको सहकार्यमा लागुऔषधविरुद्ध अभियान सञ्चालन गरेको छ । लागुऔषधको दुव्र्यसन समाजको विकराल समस्या भएको हुँदा यसको न्यूनीकरणमा सञ्चारकर्मीले समेत भूमिका निर्वाह गर्नुपर्छ भनेर गृहले स्थानीय समुदायलाई समेटेर अभियान सञ्चालन गरेको गृहकी अध्यक्ष रेजिना गौतमले बताउनुभयो ।