१४ बैशाख । इलाम क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचनका लागि तयारी धमाधम भइरहेको छ । अहिले कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगेर सबैखाले तयारी गरिरहेका छन् । स्थानीय राजनीतिक दलसँग सर्वदलीय बैठकसँगै मतदानस्थलको घेराबारा, मतदातालाई राखिने लाइन राख्ने ठाउँलगायत तयार गरिरहेका छन् ।
मतदातालाई पुरुष र महिलाले अलग–अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली पुगिसकेको छ । क्षेत्र २ का एक सय ४९ मतदान केन्द्रमा सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री मतदान केन्द्रमा प्रयोग गरिँदैछन् ।
सबै मतदान केन्द्रलाई ‘अति संवेदनशील’मा राखेको सुरक्षा समितिले यसपटक निर्वाचन सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था अपनाइएको जनाएको छ । निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी र चार सय ५० नेपाली सेना र अनुसन्धानका २४ जना परिचालन हुनेछन् ।
छ पालिकाका ४२ वडामा मतदान हुन लागेको छ । यहाँ ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । शुक्रबारसम्ममा सबै मतदान केन्द्र तयार भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए ।