३ बैशाख, झापा । दमक –लखनपुर भेट्रान क्लवको आयोजनामा यहि बैशाख ७ गतेदेखि शुरु हुने छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
बैशाख ७ देखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको क्लवले सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । कमल –५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेलमैदानमा हुने सो प्रतियोगितामा पूर्वका चर्चित १८ टिमको सहभागिता रहने जनाईएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष दिवस राईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेता टिमले एक लाख ११ हजार एक सय एघार साथै ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने र उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ पाउने बताउनुभयो । यसैगरि, प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारहरु समेत वितरण गरिने जनाइएको छ । पुरस्कार मध्ये पहिलो पुरस्कार स्व. टंक राईका परिवारजनले प्रायोजन गर्ने आयोजकले बताएको छ । त्यस्तै दोश्रो पुरस्कार आयोजकका क्याप्टेन अजेन तुम्बापोले आफ्ना मातापितााको नाममा प्रायोजन गर्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा क्लवका खेल म्यानेजर मीन मगर, क्याप्टेन अजेन तुम्बापो, कोषाध्यक्ष लक्ष्मण मादेन लगायतले प्रतियोगिताका विषयमा जानकारी गराउनुभएको थियो ।
वि.सं. २०६९ सालदेखि शुरु भएको यस प्रतियोगिता कोभिड लगायतका कारण विगत चार वर्ष भने सञ्चालनमा आउन सकेको थिएन् । कोभिड पछि यसवर्ष भने निकै उत्साहका साथ प्रतियोगिता आयोजना हुन लागेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा क्लवका सहसचिव सुबास आङथुपो, टिम म्यानेजर विजु श्रेष्ठ, टिम व्यवस्थापक शुसील श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा भेट्रान र झिलझिले भेट्रान वीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै दोश्रो दिनदेखि दैनिक दुई खेल सञ्चालन हुने क्लवका क्याप्टेन अजेन तुम्बापोले जानकारी दिनुभयो ।
१८ टिमको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल भने बैशाख १७ गते हुनेछ ।