चुलाचुलीमा ९० प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा (फोटो फिचर)

चुलाचुलीमा ९० प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने अपेक्षा (फोटो फिचर)

२८ असार, इलाम । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि इलामको चुलाचुली गाउँपालिकामा असारको अन्तिम सातासम्ममा करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै पानी परेकाले किसानले सहज रूपमा रोपाइँ गर्न पाएका छन् भने गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङका अनुसार गाउँपालिकाभित्र अधिकांश खेतीयोग्य क्षेत्रमा धान रोपाइँ सकिएको छ भने बाँकी क्षेत्रमा पनि केही दिनभित्र सम्पन्न हुनेछ । उनले यो बर्ष समयमै वर्षा भएकाले सिँचाइको समस्या नआएको बताए। “यस वर्ष समयमै वर्षा भएका कारण करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ । मौसमले साथ दिए उत्पादन पनि बढ्ने अपेक्षा छ ।” अध्यक्ष केरुङले भने।

गाउँपालिकाका विभिन्न वडाका किसानहरू पनि यस वर्षको मौसम अनुकूल भएकाले राम्रो उत्पादन हुनेमा आशावादी छन् । पर्याप्त पानीका कारण रोपाइँ सहज भएको चुलाचुली १ का कृषक शन्देस नेम्बाङले बताए ।

स्थानीय तहले पनि कृषि उत्पादन वृद्धि गर्न किसानलाई आवश्यक प्राविधिक परामर्श तथा कृषि कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । गाउँपालिकाले आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर