२ बैशाख, झापा । अन्य व्यक्तिको नागरिकता र आफ्नो फोटो प्रयोग गरेर १६ वटा बैंकमा खाता खोल्ने एक महिला झापाबाट पक्राउ परेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरीको समन्वयमा झापाको शनिश्चरेकी ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पौडेल फेसबुकमा साथी बनेर विदेशबाट पार्सल पठाएको भनी ठगी गर्ने गिरोहमा संलग्न छिन् । प्रहरीले झापाको बुद्ध शान्तिका ३५ वर्षे निश्चल पोर्तेल र इलामको माईका ३४ वर्षे धनबहादुर विकलाई पक्राउ गरेको छ । पोर्तेल पौडेलका श्रीमान हुन् ।
पौडेलले नेपाली नम्बरबाट ह्वाट्सएप खोलेर पीडितहरुसँग सम्पर्क गर्ने गरेको प्रहरीको दाबी छ । पोर्तेलको नाममा भारतीय आधार कार्डसमेत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो गिरोहले हालसम्म ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको उजुरी प्राप्त भएको छ ।