२९ चैत । इलाम २ को उपचुनावमा पहिचावादी पक्षधरको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मुढा चुनाव चिह्न पाएका छन् । यस्तै अन्य स्वतन्त्र उम्मेद्वार अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगा सहितको अनुहार चुनाव चिह्न पाएका छन् ।
निर्वाचन आयोगका अनुसार २० जना उम्मेद्वार मध्ये स्वतन्त्र उम्मेद्वार केशवकुमार चापागाईले उम्मेद्वारी फिर्ता गरेपछि १९ जना उम्मेदवार छन्। जसमा १२ जना दलगत र बाँकी स्वतन्त्र उम्मेदवार छन् । दलगत रुपमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ उम्मेदवार छन् । एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन् ।
कार्यतालिका अनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।