२८ चैत, झापा । झापाको दमकमा भएको आगलागीबाट २ करोड ४८ लाख ३० हजार बराबरको क्षति भएको छ ।
प्रहरीको प्रारम्भिक क्षति संकलनबाट सो क्षति देखिएको हो । मंगलबार साँझ अन्दाजी साढे सात बजेको समयमा दमक नगरपालिका वडा न.५ लाईफलाईन अस्पताल छेउमा बस्ने प्रेम धिमालले घरमा संचालन गरेको स्नेहा होटलमा इन्भर्टरको लाईन सर्ट भई अचानक आगलागी भएको थियो ।
आगलागीबाट धिमालको काठ, टिनको बेरा र टिनकै छानो भएको एकतले घर, घरमा रहेको ३५ तोला सुन, लत्ताकपडा, भाँडावर्तन, खाटपात, फर्निचर, फ्रिज २ वटा, ईन्भर्टर थान–१, नगद रु.४ लाखसमेत गरी अन्दाजी ७९ लाख ९० हजार बराबरको क्षति भएको छ । त्यस्तै रामवती भुजेलको पक्की वाल र टिनको छानो भएको एकतले घरमा आंशिक क्षति हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ ।
त्यस्तै हल्दीबारी गाउँपालिका वडा न.५ घर भई हाल दमक ५ मा रुवि होटल संचालन गरिरहेका मेखबहादुर तामाङको टिनको छानो, टिन र तारको जालीको बेरा भएको एकतले घर, भाँडाबर्तन,लत्ताकपडा, फर्निचर, चामल, दाल, पेय पदार्थ, ल्यापटप थान–१, सुन १२ आना, होटलमा रहेको अन्य सरसामानसमेत गरी अन्दाजी १३ लाख ४०हजार बराबरको क्षति भएको छ ।
आगलागीबाट सोही ठाउँमा रहेको लाइफलाईन अस्पतालको डाईलोसिस वार्डको झ्यालबाट आगो पसी ६ वटा डाईलोसिस मेसिन, ३ वटा एसी, एउटा सीसी क्यामेरा ,मेडिकल उपकरण गरी जम्मा १ करोड ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त आगलागी दमक नगरपालिकाको २ वटा, कमल गाउँपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र उर्लाबारी नगरपालिकाको १–१ वटा गरी जम्मा ६ वटा दमकल, इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा २० जना र सशस्त्र प्रहरी गण पाडाजुंगीबाट सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा २५ जनाको टोली तथा स्थानीयहरुको सहयोगमा राति साढे आठ बजेतिर आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।