राजेशपायल राईले गरे सम्बन्धविच्छेदः श्रीमतीलाई ५ करोडको घर र ५० लाख नगद

राजेशपायल राईले गरे सम्बन्धविच्छेदः श्रीमतीलाई ५ करोडको घर र ५० लाख नगद


२२ चैत, काठमाण्डौँ । आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो ।

सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ । उक्त घरमा रहेका सबै चिजवस्तुहरू साङबुङकै स्वामित्वमा हुनेछन् । यसैगरी राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । यस्तै काठमाडौंभित्रै रहेको एउटा घडेरी पनि साङबुङको भागमा परेको छ ।

गायक राई आजमात्र रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परे र छुटेका थिए ।

राजेश पायल र साङबुङका एक छोरा छन् । उनीहरू औपचारिक विवाह नगरीकन लिभ इनमा बसिरहँदा पुत्रलाभ भएको थियो । छोरा करिब दुई वर्षको भएका छन् । डिभोर्सपछि उनी आमाको साथमा बस्नेछन् भने छोराको पढाइको खर्च राजेशपायलले व्यहोर्ने छन् । छोरालाई जुनसुकै स्कूलमा पढाए पनि बाबुले फी तिर्ने सम्झौता भएको छ । यसैगरी, छोराको भरणपोषणका लागि मासिक १५ हजार रूपैयाँ राजेशपायलले पत्नीलाई उपलब्ध गराउने सम्झौता गरेका छन् ।

आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग दुई वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो । उनीहरूको भेट हुँदा राजेशपायल ४० काटिसकेका थिए भने साङबुङ उमेरले नाबालिग नै थिइन् । फ्यानको रूपमा नजिकिएकी साङबुङलाई राजेशपायलले पछि प्रेमिका बनाए । त्यसपछि उनले साङबुङलाई घरमै ल्याएर राखेका थिए, तर विवाह भएको थिएन । लामो समयसम्म राजेशपायलले आफ्नो प्रेम जीवन मिडियाबाट लुकाउन सफल भएका थिए ।

राजेशपायलको नक्सालमा र शान्तिनगरमा दुईवटा घर छन् । उनले साङबुङलाई नक्शालको घरमा राखेका थिए भने शान्तिनगरमा परिवारका सदस्यहरू बस्थे । अहिले नक्सालको घर श्रीमतीलाई दिएपछि उनी शान्तिनगरमा बस्न थालेका छन् । उनको घर अभिनेता पल शाहको डेरानजिकै छ ।

राजेश र साङबुङले गत वर्ष साउनतिर पुत्रलाभ गरेपछि विवाह दर्ता गरेका थिए । बिहे दर्ता प्रमाणपत्रमा २०७८ असोज महिनामा उनीहरूको विवाह भएको उल्लेख छ । उनीहरूले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ मा गत मंसिर २६ गते विवाह दर्ता गरेका थिए । तर, उनीहरूको सम्बन्ध सुमधुर रहन सकेन । उनीहरूबीच बारम्बार झगडा भइरहन्थ्यो । श्रीमान्ले आफूलाई मदिरा सेवन गरेर कुटपिटसमेत गर्ने गरेको साङबुङले निकटस्थसँग बताउने गरेकी थिइन् । तर, सार्वजनिकरूपमा यो जोडीले आफूहरूबीचको सम्बन्धबारे कहिल्यै मुख खोलेनन् ।

राजेशपायल साङबुङसँग जीवन काट्ने मनस्थितिमा थिएनन् । उनले कतै पनि सार्वजनिक कार्यक्रममा साङबुङलाई श्रीमतीको दर्जा दिएर सँगै लिएर हिँडेको देखिएन । साङबुङ भने डिभोर्सका लागि तयार थिइनन् । बच्चाका कारण पनि उनीहरू एक–अर्कासँग अलग्गिन सहज अवस्था थिएन । तर, अहिले आएर दुवैले सम्झौता गरेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर