
६ चैत, इटहरी । इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका अनुसार प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ।
प्रतियोगितामा भारतीय एक टोलीसहित ८ वटा टोलीले सहभागिता जनाउने निश्चित भएको छ। दोस्रो दिन आयोजक राष्ट्रिय जागृति क्लब र भारतको कञ्चनजंगा फुटबल क्लबबीच खेल हुनेछ।
यस्तै, तेस्रो दिन चैत १२ गते विभागीय टोली त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुनेछ। चैत १३ गते चर्च ब्वाइज युनाइटेड र न्यूरोड टोली एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने छन्।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७